धरान। धरानमा सम्पन्न कोशी प्रदेशस्तरीय ‘एसईई आइडल–२०८३’ को उपाधि तीन विधामा तीन प्रतिभाशाली विद्यार्थीले जितेका छन् । वक्तृत्वकलातर्फ धरानकी सिमरन गुरुङ, गायनतर्फ मोरङकी बबी श्रेष्ठ र नृत्यतर्फ पथरीका एलोन राई विजेता बनेका हुन् ।
धरान–१५ स्थित याक्थुङ चुम्लुङ भवनमा शुक्रबार सम्पन्न भव्य फाइनल प्रतिस्पर्धामा नवोदय विद्या मन्दिर धरानकी सिमरन गुरुङले वक्तृत्वकलातर्फ, पब्लिक सेन्ट्रल इङ्लिस स्कुल लेटाङ मोरङकी बबी श्रेष्ठले गायनतर्फ तथा श्री सिंहबाहिनी सेकेण्डरी स्कुल पथरी मोरङका एलोन राईले नृत्यतर्फ उपाधि हात पारे ।
फक्ताङलुङ मिडिया हाउस प्रालिको आयोजनामा सम्पन्न ‘एसईई आइडल’को छैटौं संस्करणमा कोशी प्रदेशभरिका विद्यार्थी प्रतिभाहरूबीच गायन, नृत्य र वक्तृत्वकला विधामा प्रतिस्पर्धा भएको थियो । विजेताहरूले जनही नगद एक लाख रुपैयाँ, कक्षा ११ र १२ का लागि शतप्रतिशत छात्रवृत्ति, निःशुल्क मुस्ताङ भ्रमण तथा बारिष्टा तालिम प्राप्त गर्ने भएका छन् ।
उपाधि विजेताहरूलाई चर्चित गायिका रचना रिमाल, गायक विकास तुम्बापो, आयोजक संस्था फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापो तथा इभेन्ट म्यानेजर रामबहादुर लिम्बूलगायतले पुरस्कार वितरण गरेका थिए ।
गायनतर्फ स्वस्थानी श्रेष्ठ फस्ट रनरअप, तक्तुहाङ लिम्बू सेकेण्ड रनरअप तथा ह्याप्पीसन लिम्बू थर्ड रनरअप घोषित भए । बबी श्रेष्ठले पब्लिक च्वाइस अवार्डसमेत जितिन् । बन्दना तामाङ, आकाश कुलुङ, अजित राई, जेनिशा खड्का र समीर मल्लिकले विभिन्न विशेष अवार्ड प्राप्त गरे ।
नृत्यतर्फ महिमा लिम्बू फस्ट रनरअप, सुजाता घिसिङ सेकेण्ड रनरअप तथा स्मारिका चेम्जोङ लिम्बू थर्ड रनरअप घोषित भए । रुचि लिम्बूले पब्लिक च्वाइस अवार्ड जितिन् भने गौरव राई, मनिता योन्जन लामा, जेशिका लिम्बू, सोनिया राई र शिक्षा थापा क्षत्री विभिन्न विशेष अवार्डबाट सम्मानित भए ।
वक्तृत्वकलातर्फ खुशी विष्ट फस्ट रनरअप, अनुषा महरा सेकेण्ड रनरअप तथा हिमा घिमिरे थर्ड रनरअप घोषित भए । प्रज्ञान कोइरालाले पब्लिक च्वाइस र ‘बेस्ट थिमेटिक स्पीकर’ अवार्ड जित्दा सन्तानु चौधरी, शुभम शाह, इशा खड्का, हिमा घिमिरे र अंकिता थापाले अन्य विशेष अवार्ड प्राप्त गरे ।
प्रतियोगिताका फस्ट रनरअपले नगद ३० हजार, सेकेण्ड रनरअपले २० हजार र थर्ड रनरअपले १० हजार रुपैयाँसहित कक्षा–११ मा पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । पब्लिक च्वाइस अवार्ड विजेताले ७ हजार रुपैयाँ र पूर्ण छात्रवृत्ति पाएका छन् । सहभागी सबै विद्यार्थीलाई कक्षा–११ मा पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको कार्यक्रम व्यवस्थापक राम लिम्बूले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले गरेका थिए । कार्यक्रममा बोल्दै उनले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।
कार्यक्रममा गायिका रचना रिमालले सांगीतिक प्रस्तुति दिँदै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन् । कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, विभिन्न विद्यालयका प्रिन्सिपल, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका परिकल्पनाकार डम्बरकुमार तुम्बापोले बालबालिकामा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार २०७५ सालमा ‘एसईई स्टेट १ आइडल’ नामबाट सुरु भएको प्रतियोगिता अहिले कोशी प्रदेशस्तरको प्रतिष्ठित विद्यार्थी प्रतिभा मञ्चका रूपमा स्थापित हुँदै गएको छ ।


