धरान । धरान खेलकुद मञ्चले खेलकुद क्षेत्रमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक, अग्रज तथा पत्रकारलाई नगदसहित अवार्ड र सम्मान गरेको छ।
शुक्रबार धरानमा आयोजित कार्यक्रममा मञ्चले उत्कृष्ट प्रशिक्षक, वर्ष खेलाडी, पब्लिक च्वाइस र ‘लेजेन्ड्री’ सम्मान प्रदान गरेको हो।
कराते प्रशिक्षक किरण लामा उत्कृष्ट प्रशिक्षक घोषित हुँदै नगद २५ हजार रुपैयाँसहित अवार्ड पाए। वर्ष खेलाडी पुरुषतर्फ करातेका प्रमोद राई र महिलातर्फ फुटबलकी प्रतीक्षा राई उत्कृष्ट घोषित भए। दुवैले २५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरे।
पब्लिक च्वाइसमा करातेका निगम तिम्सिना पहिलो भए। उनले नगद २५ हजार रुपैयाँ पाए। टेबल टेनिसका श्रेय सुवेदी दोस्रो र करातेका साहिल राई तेस्रो भए।
मञ्चले पूर्व राष्ट्रिय फुटबल खेलाडी इन्दु रसाइलीलाई ‘लेजेन्ड्री’ सम्मान प्रदान गर्दै ११ हजार रुपैयाँ प्रदान गर्यो। खेलकुद पत्रकारितामा योगदान पुर्याएको भन्दै धरान साप्ताहिकका पत्रकार गोविन्द बस्नेतलाई पत्रकार सम्मानसहित १० हजार रुपैयाँ प्रदान गरिएको छ।अवार्ड तथा सम्मान कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले हस्तान्तरण गरे।कार्यक्रममा मञ्चका अध्यक्ष किशोर राईले खेलाडी र खेल क्षेत्रलाई प्रोत्साहन गर्न आयोजना गरिएको यस्तो कार्यक्रमका लागि नगर सरकारले बजेट नछुट्याएको गुनासो गरे। जवाफमा कार्यवाहक नगर प्रमुख बेघाले आगामी वर्षदेखि उपमहानगरपालिकाले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। यसरी धरानको खेल क्षेत्रमा योगदान पुर्याउनेहरूलाई सम्मान गर्दै मञ्चले खेलाडी र खेलकर्मीलाई थप उत्साहित गर्ने प्रयास गरेको छ।