धरान । सरकारले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने आफ्नो राष्ट्रिय प्रतिबद्धतालाई कार्यान्वयन गर्दै धरानमा आधारभूत अस्पताल निर्माणका लागि महत्वपूर्ण निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह को नेतृत्वमा वैशाख २१ गते बसेको मन्त्रिपरिषद् बैठकले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को स्वामित्वमा रहेको जग्गा धरान उपमहानगरपालिकालाई उपयोग गर्न दिने प्रस्ताव स्वीकृत गरेको हो ।
प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल का अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पेश गरिएको उक्त प्रस्तावलाई सरकारले नागरिकको आधारभूत आवश्यकतासँग जोडेर प्राथमिकताका साथ अघि बढाएको हो ।
निर्णयसँगै धरान उपमहानगरपालिका–१ स्थित छाता चोकमा रहेको कित्ता नम्बर २४ को १–४–१३–१ विघा जग्गामा स्थानीयस्तरको सुविधासम्पन्न आधारभूत अस्पताल निर्माण हुने बाटो खुलेको छ । सरकारको “हरेक स्थानीय तहमा एक आधारभूत अस्पताल” स्थापना गर्ने नीति तथा पन्ध्रौं योजनाले अघि सारेको रूपान्तरणकारी परियोजनालाई सफल बनाउन यो कदम महत्वपूर्ण मानिएको छ ।धरानमा हालसम्म आफ्नै आधारभूत अस्पताल नहुँदा स्थानीयवासीले विभिन्न समस्या झेल्दै आएका थिए । संघीय सरकारले स्थानीय आवश्यकता र जनभावनालाई सम्बोधन गर्दै यो निर्णय गरेको बताइएको छ ।यस प्रक्रियामा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय को समेत सकारात्मक राय र सहमति प्राप्त भएको दाहालले उल्लेख गर्नुभयो । यसले सरकारी निकायबीचको प्रभावकारी समन्वयलाई समेत पुष्टि गरेको उहाँको भनाइ छ ।विगतमा जग्गा प्राप्तिको विषयलाई लिएर विभिन्न राजनीतिक तह तथा सामाजिक सञ्जालमा विरोधका स्वर उठे पनि सरकारले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गर्दै ठोस निकास दिएको दाहालले बताउनुभयो ।उहाँले भन्नुभयो, “लामो समयदेखिको जग्गा सम्बन्धी अन्योल अन्त्य गर्दै चालिएको यो कदमले धरानवासीमा गुणस्तरीय स्वास्थ्य सेवाप्रति नयाँ आशा जगाएको छ । साथै संघीय सरकार स्थानीय विकास र जनस्वास्थ्यका सवालमा सदैव सहयोगी रहेको सन्देश पनि दिएको छ ।”


