धरान- १२ औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न क्वार्टरफाइनल खेलबाट नेपाल पुलिस स्कुल र डिपोट स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्।

धरान–१४ स्थित हात्तिसार केन्द्रीय प्राविधिक क्याम्पसको खेल मैदानमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस स्कुलले शिक्षा सन्देश स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। पुलिस स्कुलको जितमा जर्सी नम्बर ७ का विकास मगरले दुवै गोल दर्ता गरे। उनले खेलको १७ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा अर्को गोल थप्दै जित सुनिश्चित गरेका थिए।

त्यसैगरी दोस्रो क्वार्टरफाइनल खेलमा डिपोट स्कुलले सुनगाभा स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। प्रतिस्पर्धात्मक खेलमा सुनगाभा स्कुलबाट भएको आत्मघाती गोल नै निर्णायक सावित भयो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा डिपोट स्कुल विजयी बन्न सफल रह्यो।

मनमोहन अधिकारीको स्मृतिमा धरान सिटी फुटबल क्लब, धरान–१५ को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा धरानका आठ विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल असार १२ गते सम्पन्न हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

IMG-20260623-WA0021

IMG-20260623-WA0014