धरान । विद्यालयस्तरीय नृत्य प्रतियोगिता धरान डान्सिङ आइडल सिजन–६ को सेमिफाइनल चरण सम्पन्न भएको छ। प्रतियोगिताअन्तर्गत ‘मोडर्न विथ प्रप’ राउन्ड धरान-१० स्थित सैनिक भवनमा सम्पन्न भएको हो।
सेमिफाइनलमा धरानका विभिन्न विद्यालयबाट सहभागी ६० जना प्रतियोगीले आधुनिक नृत्यसँगै विभिन्न सामग्रीको प्रयोग गरी प्रस्तुति दिएका थिए । सेमिफाइनलबाट उत्कृष्ट प्रदर्शन गर्ने ३० जना प्रतियोगी फाइनल चरणका लागि छनोट भएका छन्। प्रतियोगिताको निर्णायकमा रेश्मा राई र दिवस श्रेष्ठ रहेका थिए।
विद्यालय तहमा रहेका विद्यार्थीको नृत्य प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता हाम्रो डान्स एकेडेमीको आयोजनामा सञ्चालन भइरहेको छ। आयोजकका अनुसार प्रतियोगिताको फाइनल कार्यक्रम असाेजको पहिलो साता आयोजना गरिनेछ। फाइनलका विजेताले २० हजार रुपैयाँ नगद पुरस्कारसहित एक वर्षको निःशुल्क नृत्य प्रशिक्षण प्राप्त गर्नेछन्।
त्यस्तै, प्रथम उपविजेतालाई १५ हजार रुपैयाँ नगद पुरस्कारसहित छ महिनाको निःशुल्क नृत्य प्रशिक्षण र द्वितीय उपविजेतालाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित तीन महिनाको निःशुल्क नृत्य प्रशिक्षण प्रदान गरिनेछ। विजेता तथा उपविजेतालाई थप आकर्षक उपहारसमेत प्रदान गरिने आयोजकले जनाएको छ।