धरान । प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत नेपाल पुलिस क्लबले अन्तिम क्वाटरफाइनलमा सहज जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। धरान–१६ स्थित रंगशालामा सम्पन्न खेलमा पुलिसले काकडभिट्टा महिला फुटबल क्लबलाई ८–० गोलअन्तरले पराजित गरेको हो ।

पुलिसको जितमा रेखा पौडेलले एक्लै ६ गोल गरेकी थिइन । रेखाले पहिलो हाफको २७ औं, ३८ औं, ४४ औं र ४६ औं मिनेटमा गोल गरेकी थिइन् । दोस्रो हाफमा पनि लय कायम राख्दै २० औं र ३२ औं मिनेटमा गोल थपेर उनले दोहोरो ह्याट्रिक पूरा गरिन् ।

त्यस्तै, सम्झना लावती र मीना देउवाले एक–एक गोल गर्दै पुलिसको जितलाई ८–० मा पु¥याए । खेलमा ६ गोल गरेकी रेखा पौडेल प्लेयर अफ दी म्याच घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन् ।

जितसगै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । अब फाइनल प्रवेशका लागि पुलिसले मंसिर ३ गते आयोजक स्वर्णिम क्लबसंग प्रतिस्पर्धा गर्ने छ । आज हुने पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले पाच लाख रुपैया र उपविजेताले तीन लाख रुपैया सहित ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।