धरान । सुनसरीको धरानस्थित प्राइम भिजन इन्टरनेश्नल कलेजमा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीका लागि आयोजित तीनदिने विपद् व्यवस्थापन अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
‘प्रिपेयर, रेस्पोन्ड, रिकभर’ अर्थात् तयारी, प्रतिकार्य र पुनःलाभ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको तालिममा विद्यार्थीलाई विपद्का बेला अपनाउनुपर्ने सुरक्षा उपाय, जीवनरक्षा, प्राथमिक उपचार तथा जोखिम न्यूनीकरणका व्यावहारिक सीप सिकाइएको थियो ।
जेसीआई धरान जुनियरको आयोजना तथा प्राइम भिजन इन्टरनेश्नल कलेजको सहकार्यमा भएको तालिममा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानका प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए । सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) युकेश उप्रेती र सशस्त्र प्रहरी नायब निरीक्षक (एसआई) सुरेन्द्र डोटेलसहितको टोलीले विद्यार्थीलाई विपद् प्रतिकार्यसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिएको थियो ।
कलेजका अध्यक्ष अनिल श्रेष्ठका अनुसार होटल तथा आतिथ्य क्षेत्रमा काम गर्ने जनशक्तिले विभिन्न किसिमका आपत्कालीन परिस्थितिको सामना गर्नुपर्ने भएकाले विद्यार्थीलाई अध्ययनसँगै विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको हो । तालिमले विद्यार्थीमा विपद्प्रति पूर्वतयारी र आकस्मिक अवस्थामा तत्काल प्रतिकार्य गर्न सक्ने क्षमता विकास गर्ने उनले बताए ।
तीन दिनसम्म दैनिक पाँचवटा सत्रमा सञ्चालन गरिएको तालिममा व्याख्यानसँगै विभिन्न अभ्यास र मोक ड्रिलसमेत सञ्चालन गरिएको थियो ।
पहिलो दिन विपद् व्यवस्थापनका आधारभूत अवधारणा, कानुनी व्यवस्था तथा भूकम्पका बेला अपनाउनुपर्ने सुरक्षा उपायबारे प्रशिक्षण दिइएको थियो । विद्यार्थीलाई भूकम्प आउनुअघि, आउँदा र आएपछि अपनाउनुपर्ने सावधानीका साथै ‘ड्रप, कभर एन्ड होल्ड’ विधिको अभ्यास गराइएको थियो । भवनबाट सुरक्षित रूपमा बाहिरिने तथा सुरक्षित भेला हुने स्थान अर्थात् ‘एसेम्बली प्वाइन्ट’ व्यवस्थापनको अभ्याससमेत गरिएको थियो ।
दोस्रो दिन आगलागी नियन्त्रण, प्राथमिक उपचार तथा होटलमा हुन सक्ने विभिन्न आपत्कालीन अवस्थालाई केन्द्रमा राखेर प्रशिक्षण दिइएको थियो । विद्यार्थीलाई विभिन्न प्रकारका अग्निनियन्त्रक उपकरणको छनोट तथा प्रयोग, अत्यधिक रक्तश्राव नियन्त्रण, हड्डी भाँचिएको अवस्थामा प्राथमिक उपचार, गम्भीर रूपमा पोलेको अवस्थामा अपनाउने उपाय तथा सीपीआरसम्बन्धी अभ्यास गराइएको थियो ।
यसै क्रममा होटलको भान्छामा आगलागी, कोठामा पाहुना थुनिएको अवस्था, विषाक्त ग्यास चुहावट तथा लिफ्टमा समस्या आएमा होटल कर्मचारीले कसरी समन्वय र प्रतिकार्य गर्ने भन्ने विषयमा मोक ड्रिलसमेत गराइएको थियो ।
तेस्रो दिन जल उद्धारसम्बन्धी व्यावहारिक प्रशिक्षण दिइएको थियो । विद्यार्थीलाई व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग, उद्धार सामग्री सञ्चालन, पानीमा डुबेको व्यक्तिको प्राथमिक उपचार तथा डोरीको सहायताले गरिने उद्धार प्रविधिबारे अभ्यास गराइएको थियो ।
बाढी, डुबान तथा जलजन्य विपद्का बेला आफू सुरक्षित रहँदै अरूको उद्धार गर्न आवश्यक पर्ने प्राविधिक तथा व्यावहारिक सीपसमेत विद्यार्थीलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।
तालिमले होटल तथा आतिथ्य क्षेत्रमा प्रवेश गर्ने विद्यार्थीलाई सम्भावित विपद्का बेला आफू बच्ने र अरूलाई बचाउन सक्ने क्षमता विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।