धरान। युवा साथीको आयोजनामा दोस्रो संस्करणको ‘गौधारा फेस्टिभ कप यु–१४’ फुटबल प्रतियोगिता आगामी असोज ३० गतेदेखि कार्तिक २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुने भएको छ।
आयोजकले धरान–३ स्थित खड्गी समाजको भवनमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। युवा साथीका अध्यक्ष सरल उदासको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उनले प्रेस विज्ञप्ति वाचन गर्दै प्रतियोगिताको उद्देश्य, नियम तथा पुरस्कार राशिबारे जानकारी गराएका थिए।
बालबालिका तथा युवालाई कुसङ्गत, कुलतमा फस्न नदिन र भविष्यका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा कोशी प्रदेशभित्रका क्लबहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। आयोजकका अनुसार प्रतियोगितामा १० वटा टोली सहभागी हुने सम्भावना रहेको छ।
अध्यक्ष उदासले उमेर समूहका प्रतियोगितामा निर्धारित उमेरभन्दा बढीका खेलाडी सहभागी हुने गरेको उल्लेख गर्दै गौधारा फेस्टिभ कपमा उमेरसम्बन्धी नियमलाई कडाइका साथ लागू गरिने बताए। यु–१४ प्रतियोगितामा १४ वर्षभन्दा कम उमेरका खेलाडीलाई मात्र सहभागी गराइने र त्यसका लागि खेलाडीको विद्यालयको परिचयपत्र तथा जन्मदर्ता प्रमाणपत्रका आधारमा उमेर प्रमाणीकरण गरिने उनले बताए।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार ५०० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जनकऋषि राईलगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो।