धरान । भदौ २८ – दोलखाको रमणीय उपत्यका जिरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘क्यानभासमा जिरी’ शीर्षकमा कला प्रदर्शनी आयोजना गरिने भएको छ। यो प्रदर्शनी आगामी शुक्रबारदेखि सुरु हुँदै छ, जहाँ ६ जना कलाकारद्वारा बनाइएका ३२ वटा चित्रहरू प्रदर्शन गरिनेछन्।
प्रदर्शनीमा एक्रेलिक र जलरङ प्रयोग गरेर केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार, र शिव शिर्पालीले सिर्जना गरेका चित्रहरू समावेश गरिने छन्। नयाँ बानेश्वरस्थित एन।बि। सेन्टरमा रहेको उमोजा क्याफेमा हुन लागेको यो प्रदर्शनी ‘पर्यटन प्रवद्र्धन मञ्च, नेपाल’ले आयोजना गरेको हो।
प्रदर्शनीका संयोजक लिलाराम खड्काले भने, “कला मार्फत् जिरीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर, र जीवनशैलीलाई पस्कने प्रयास गरेका हौं। यसले जिरीको पर्यटन विकासमा ठुलो योगदान पुर्याउने विश्वास छ।” नेपालकै स्विजरल्याण्ड भनेर चिनिने जिरी, घुम्नलायक गन्तव्य हो, र यो प्रदर्शनीले थप पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
प्रदर्शनी भदौ २८ देखि ३० गतेसम्म तीन दिनसम्म चल्नेछ।


