धरान,। लगातार तीन दिनको बिदापछि सोमबार उपचारका लागि आउने विरामीको संख्या अत्यधिक बढ्ने अनुमान गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपीडी पुर्जा वितरणका लागि थप काउन्टर सञ्चालन गर्ने भएको छ।
प्रतिष्ठानका अनुसार पछिल्ला दिनहरूमा विरामीको चाप बढ्दै गएको छ भने लामो बिदापछि सोमबार सेवाग्राहीको संख्या झनै वृद्धि हुने अपेक्षा गरिएको छ। विरामीको सहजता र सेवा प्रवाहलाई व्यवस्थित बनाउन प्रतिष्ठानले विशेष तयारी गरेको जनाएको छ।
प्रतिष्ठानका निमित्त उपकुलपति डा. ईन्द्र लिम्बुका अनुसार स्वास्थ्य बीमामार्फत सेवा लिने विरामीका लागि जीओडी भवनमा १२ वटा काउन्टर सञ्चालन गरिनेछ। यस्तै, स्वास्थ्य बीमा नभएका तथा शुल्क तिरेर सेवा लिने सेवाग्राहीका लागि थप ५ वटा काउन्टर सञ्चालनमा ल्याइनेछ।
सरकारको निर्णयअनुसार प्रतिष्ठानमा दुई दिन साप्ताहिक बिदा लागू भएपछि सेवा लिन आउने विरामीको चाप उल्लेखनीय रूपमा बढेको छ। गत साता मात्रै एकै दिन ४ हजार २ सयभन्दा बढी विरामीले प्रतिष्ठानबाट सेवा लिएका थिए।
निजी अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि बीपी प्रतिष्ठानमा उपचारका लागि आउने विरामीको संख्या अझ बढ्ने अनुमान गरिएको छ। प्रतिष्ठानले सोमबार मात्रै ५ हजारभन्दा बढी विरामी ओपीडी सेवाका लागि आउने प्रक्षेपण गर्दै आवश्यक जनशक्ति तथा सेवा व्यवस्थापनको तयारी पूरा गरेको जनाएको छ।
भर्ना भएका विरामीलाई सहज सेवा उपलब्ध गराउन सम्बन्धित वार्डमै छुट्टै काउन्टर सञ्चालन गर्ने व्यवस्था समेत मिलाइएको छ।
विरामीको बढ्दो चापबीच सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउन प्रतिष्ठानले काउन्टर संख्या वृद्धि गर्नुका साथै व्यवस्थापन पक्षलाई थप सुदृढ बनाएको जनाएको छ।


