इटहरी । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सुनसरीको पकलीस्थित बराह बाहिनी र मातहतका विभिन्न इकाइको निरीक्षण भ्रमण गर्नुभएको छ।
निरीक्षणका क्रममा महानिरीक्षक पौडेलले बाहिनी तथा मातहतका कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन दिनुभएको छ।

उहाँले चोरी, तस्करीलगायतका गतिविधि नियन्त्रणमा प्रभावकारी रूपमा परिचालित हुन र उच्च मनोबल तथा हौसलाका साथ देश र नागरिकको शान्ति सुरक्षामा खटिन निर्देशन दिनुभएको हो।

निरीक्षण भ्रमणका क्रममा महानिरीक्षक पौडेलले अमर सशस्त्र प्रहरीका परिवारका आफन्तजन तथा पूर्वसशस्त्र प्रहरी कर्मचारीहरूसँग समेत भेटघाट र छलफल गर्नुभएको थियो।
संगठन प्रमुखबाट भएको निरीक्षण र प्राप्त मार्गनिर्देशनले बाहिनी तथा मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई फिल्डमा थप उत्साह र हौसला मिलेको बाहिनीपति डीआईजी मनिष थापाले बताउनुभयो।

उहाँले प्राप्त निर्देशनअनुसार बाहिनी र मातहतका इकाइहरू शान्ति सुरक्षा कायम गर्न तथा चाडपर्वका समयमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणमा अविचलित रूपमा परिचालित हुने बताउनुभयो।