धरान आयोजक स्वर्णिम क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब काठमाडौं प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप २०८३ को फाइनलमा प्रवेश गरेको छ। धरान–१६ स्थित रंगशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा एकपक्षीय जित निकाल्दै पुलिसले उपाधि भिडन्तमा आफ्नो स्थान सुरक्षित गरेको हो। जितसँगै पुलिसले अब उपाधिका लागि अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) सँग प्रतिस्पर्धा गर्नेछ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको पुलिसले पहिलो हाफमै तीन गोलको अग्रता बनाएको थियो। खेलको छैटौँ मिनेटमा मिना देउवाले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन्। त्यसपछि ३० औँ मिनेटमा रेखा पौडेलले गोल थप्दै टोलीको अग्रता दोब्बर बनाइन्। पहिलो हाफको ३४ औँ मिनेटमा मिना देउवाले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिस ३–० को अवस्थामा पुग्यो। दोस्रो हाफमा पनि पुलिसको आक्रमण रोकिएन। खेलको ५४ औँ मिनेटमा रेखा पौडेलले व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसैगरी, ६१ औँ मिनेटमा बिर्षना चौधरी र ७७ औँ मिनेटमा अनुष्का शेर्पाले गोल थपेपछि पुलिसले ६–० को फराकिलो जित दर्ता गरेको थियो।
दुई गोल गरेकी नेपाल पुलिस क्लबकी मिना देउवा खेलको प्लेयर अफ द म्याच घोषित भइन्। उनले पुरस्कारस्वरूप नगद १० हजार रुपैयाँ प्राप्त गरिन्। यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अब प्रतियोगिताको उपाधिका लागि मंसिर ५ गते शनिबार एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। आयोजक डी–१९ क्लबका अनुसार प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ।