धरान। रात्रीकालीन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप–२०८३ को उद्घाटन खेलमा विभागीय टोली एपीएफ एफसीले भारतको झारखण्डस्थित आक्वा एफसीलाई ७–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
धरान–१६ स्थित रंगशालामा शनिबार सम्पन्न खेलमा एपीएफको जितमा पूर्णिमा राईले एक्लै चार गोल गरिन्। त्यस्तै, रश्मिकुमारी घिसिङले दुई गोल गरिन् भने एक गोल विपक्षी टोलीबाट आत्मघाती भएको थियो।
जर्सी नम्बर १० की पूर्णिमाले खेलको १८ औँ, २६ औँ, दोस्रो हाफको १६ औँ र ३२ औँ मिनेटमा गोल गर्दै व्यक्तिगत चार गोल पूरा गरिन्। यस्तै, जर्सी नम्बर १९ की रश्मिकुमारीले पहिलो हाफको २९ औँ र दोस्रो हाफको ४३ औँ मिनेटमा गोल गरिन्। पहिलो हाफमा ३-० को अग्रता बनाएको एपीएफले दोस्रो हाफमा थप चार गोल गरेको थियो।
चार गोल गरेकी पूर्णिमा राई खेलको प्लेयर अफ द म्याच घोषित भइन्। उनले मेडलसहित नगद १० हजार रुपैयाँ प्राप्त गरेकी थिइन्।
धरानमा पहिलोपटक आयोजना भएको महिला गोल्डकपको उद्घाटन खेलमा दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो। प्रतियोगिताअन्तर्गत आइतबार (आज) साँझ ६ बजे धरानको स्वर्णिम फुटबल क्लब र उदयपुरको गाईघाट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ।