धरान । धरान-११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय र धरान-६ स्थित सरस्वती माध्यमिक विद्यालयमा रिक्त शिक्षक दरबन्दीमा नियुक्तिको माग गर्दै आन्दोलनरत विद्यार्थीहरूले थप तालाबन्दी गर्ने चेतावनी दिएका छन्।

विद्यार्थीहरूले बिहीबार(हिजाे)देखि धरान उपमहानगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरी अनशनसमेत सुरु गरेका छन्। उनीहरूले नगर प्रमुखको कार्यकक्षको ढोकामा रातो र कालो टेपले क्रस गरी ‘अनशन जारी’ लेखिएको सूचना टाँसेका छन्।

विद्यार्थीहरूका अनुसार ज्ञानोदय माविमा विगत तीन वर्षदेखि माध्यमिक तहका शिक्षक नहुँदा पठनपाठनमा समस्या हुँदै आएको छ। दुवै विद्यालयमा रिक्त शिक्षक दरबन्दीमा नियुक्ति गर्न माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

विद्यार्थीहरूले आफ्ना माग राख्दै नगरपालिकामा पुगेका बेला कार्यवाहक नगर प्रमुखले उनीहरूको माग नसुनी बाहिरिएपछि आन्दोलन सुरु गरेको बताएका छन्। बिहीबारदेखि आन्दोलन सुरु भए पनि हालसम्म नगर प्रमुखले विद्यार्थीहरूसँग समन्वय नगरेको उनीहरूको भनाइ छ। पटक–पटक कार्यवाहक नगर प्रमुखसँग सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन नसकेको आन्दोलनका समर्थक रोजन शंकरले बताएका छन्।

आन्दोलनका समर्थक रोजन शङ्करका अनुसार दिउँसो १ बजेर ६ मिनेटसम्म नगर प्रमुख कार्यालयमा उपस्थित नभए शिक्षा महाशाखामा तालाबन्दी गरिनेछ। त्यसको एक घण्टापछि अर्थात् दिउँसो २ बजेर ६ मिनेटसम्म पनि नगर प्रमुख उपस्थित नभए प्रशासनिक अधिकृतको कार्यकक्षमा समेत तालाबन्दी गरिने उनले बताएका छन्।

विद्यार्थीहरूको आन्दोलनलाई समर्थन गर्दै बाल सञ्जालका रोजन शङ्कर, निर्जल भण्डारी, सागर तामाङ र मुक्साङ लिम्बु पनि अनशनमा बसेका छन्।

-सन्देश तिमल्सिना 

IMG_20260925_121220

IMG_20260925_120951

IMG_20260925_121246