धरान । धरानका दर्शकले पहिलोपटक चर्चित तीन ब्यान्डलाई एउटै मञ्चमा प्रत्यक्ष हेर्न पाउने भएका छन्। ‘एक्स्ट्रिम इस्टसाइड’ कन्सर्टमा बिपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्ड, पहेँलो बत्ती मुनि र अल्बाट्रोसले प्रस्तुति दिने भएका हुन्।
तक्क्षयक इन्टरटेन्मेन्टको प्रस्तुति र निङ्साम एन्ड ग्रुप प्रा.लीकाे स्थानीय सहकार्यमा हुने कन्सर्ट आगामी असोज १७ गते शनिबार धरान–१५ स्थित क्रिकेट स्टेडियममा आयोजना हुनेछ।
बिपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्ड यसअघि नै धरानमा प्रस्तुति दिइसकेको छ भने पहेँलो बत्ती मुनि र अल्बाट्रोसले पछिल्लो पटक वैशाखमा धरानमा प्रस्तुति दिएका थिए। यी तीनवटै ब्यान्डलाई धरानका दर्शकले यसअघि छुट्टाछुट्टै समयमा प्रत्यक्ष हेरे पनि एकैपटक एउटै मञ्चमा भने हेर्न पाएका थिएनन्।
यसपटक ‘एक्स्ट्रिम इस्टसाइड’ कन्सर्टमार्फत तीनवटै ब्यान्डलाई एउटै मञ्चमा प्रस्तुत गरिने भएपछि धरानका संगीतप्रेमी दर्शकले पहिलोपटक यस्तो सांगीतिक अनुभव लिन पाउने भएका छन्। यस कन्सर्टकाे टिकट भने खल्ती एपबाट सजिलै लिन सकिनेछ।