विराटनगर । विराटनगर महानगरपालिका-९, महेन्द्रचोक स्थित विद्यालय पोशाकमा रहेका दुई विद्यार्थी सामान्य रूपमा हिँडिरहेका थिए । सोही सडकबाट मोटरसाइकलमा दुई जना युवक पनि गइरहेका थिए । मोटरसाइकलको पछाडि बसेका एक युवकले विद्यार्थीहरूतर्फ हातको औँलाले इशारा गरेको दृश्य त्यही क्रममा खिचिएको भिडियोमा (भ्यलगमा)कैद भयो।

पछि उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई भाइरल भएपछि प्रहरीले घटनालाई संज्ञानमा लिँदै मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको थियाे ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–४ बस्ने ३५ वर्षीय महेश कुमार मण्डल र बारा परवानीपुर गाउँपालिका–१ घर भई हाल विराटनगर बस्ने ३३ वर्षीय अखिलेश कुमार प्रसाद रहेका छन् ।

उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

उक्त सार्वजनिक भिडियोमा विद्यार्थी सामान्य रूपमा हिँडिरहेको तथा मोटरसाइकलमा पछाडि बसेका एक व्यक्तिले उनीहरूतर्फ हातको औँलाले इशारा गरेको दृश्य देखिन्छ ।

पक्राउ गरेर अनुसन्धान अघि बढाउनुको कारणबारे मिश्रले महिला तथा बालबालिकासम्बन्धी विषय संवेदनशील हुने र विगतमा यस्ता दुर्व्यवहार जस्ता घटना हुने गरेको कारण दुवै जनालाई नियन्त्रणमा लिइएको बताए ।

प्रहरीले दुवै विद्यार्थीलाई बोलाएर बयान लिइसकेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

पक्राउपछि जिल्ला प्रहरी कार्यालय मोरङले फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गरेको थियो। उक्त पोस्टमा एक व्यक्तिले आफू भिडियोमा देखिएको व्यक्ति भएको र आफूलाई केही नभएको भन्दै टिप्पणी गरेका थिए। तर, यसबारे बुझ्दा प्रहरीले ती व्यक्ति घटनाका पीडित वा सम्बन्धित विद्यार्थी नभई तेस्रो व्यक्ति रहेको जनाएको छ ।

अनुसन्धान जारी रहेको र अनुसन्धानका क्रममा उनीहरू निर्दोष देखिएमा तत्काल छाडिने प्रहरीले जनाएको छ।

- सन्देश तिमल्सिना