हङकङ । हङकङमा रहेका धरानेहरूको साझा संस्था धरान हङकङ मञ्चले नयाँ नेतृत्व पाएको छ। आइतबार सम्पन्न १२औँ अधिवेशनले संजोक राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
जोर्डनस्थित किरात याक्थुम चुम्लुङको हलमा भएको अधिवेशनमा हङकङभर रहेका धरानेहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नयाँ कार्यसमितिको उपाध्यक्षमा रविन तामाङ, सचिवमा विकास चाम्लिङ राई, सहसचिवमा मनोज श्रेष्ठ तथा कोषाध्यक्षमा दिलकुमार राई (सन्जु) चयन भएका छन्।
सदस्यहरूमा रोशन लिम्बू, किशोर लिम्बू, विजयप्रसाद राई, जोना गुरुङ, राजकुमार राई, आविष्कार लिम्बू, खगेन्द्र लिम्बू कैलास र उदय लिम्बू रहेका छन्।
नयाँ नेतृत्वलाई शपथ गराउँदै संस्थापक इन्द्र वनेमले मञ्चको इतिहास र योगदानलाई अझ बलियो बनाउन आग्रह गरे। शपथपछि अध्यक्ष संजोक राईले हङकङमा रहेका धरानेहरूलाई थप एकताबद्ध गर्दै धरान र धरानेहरूको हितमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमका प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङले धरान हङकङ मञ्चका सदस्यहरूसँग भेट्दा धरानको घण्टाघरमै पुगेजस्तो अनुभूति हुने बताए। उनले धरानको ऐतिहासिक र सामाजिक सम्बन्धलाई स्मरण गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए।
महासंघका पूर्वअध्यक्ष रिता गुरुङले धरान हङकङ मञ्चलाई हङकङ नेपाली समुदायको महत्वपूर्ण संस्थाका रूपमा व्याख्या गरिन् भने प्रदीप थापाले धरानका शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुद क्षेत्रमा सहकार्य गर्न आफूहरू सधैँ तयार रहेको बताए।
अधिवेशनमा सचिव रमेश चाम्लिङ नाम्राछाले संस्थागत प्रतिवेदन तथा कोषाध्यक्ष मनोज क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
धरानप्रतिको माया र अपनत्वले जोडिएको यो मञ्चले फेरि एकपटक हङकङमा रहेका धरानेहरूलाई एउटै छानामुनि ल्याएको छ। नयाँ नेतृत्वसँगै मञ्चले आगामी दिनमा अझ सक्रिय र प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।


