धरान। प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप २०८३ को उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब काठमाडौं र सशस्त्र प्रहरी बल (एपीएफ) बीच प्रतिस्पर्धा हुँदैछ। धरान–१६ स्थित रंगशालामा हुने फाइनल खेलमा दुवै टोली उपाधिका लागि भिड्नेछन्। कार्तिक २८ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। विभिन्न चरणका प्रतिस्पर्धा पार गर्दै विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफले फाइनलमा स्थान बनाएका हुन्। पहिलो सेमिफाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। उक्त खेलमा एपीएफकी सेन्टर ब्याक गीता राना सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।
त्यस्तै, दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले आयोजक स्वर्णिम क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। पुलिसका लागि मिना देउवा र रेखा पौडेलले दुई–दुई गोल गर्दा बिर्षना चौधरी र अनुष्का शेर्पाले एक–एक गोल गरेका थिए। उक्त खेलमा दुई गोल गरेकी मिना देउवा प्लेयर अफ द म्याच घोषित भएकी थिइन्। प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिने आयोजक डी–१९ क्लबले जनाएको छ।