धरान । बस्ती रक्षा आन्दोलन परिचालन समिति तथा विभिन्न राजनीतिक दलहरूको संयुक्त आयोजनामा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको विरोधमा धरानमा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत रहेको आरोप लगाएका छन्।

आइतबार बसेको संसद बैठकमा सांसदहरूले लिपुलेक क्षेत्र हुँदै भारत र चीनबीच भइरहेको व्यापारिक गतिविधि तथा सडक निर्माणका विषयमा उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको आशय व्यक्त गरेका थिए। उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन्।

धरान–१ स्थित छाताचोकबाट सुरु भएको विरोध र्‍याली भानुचोक पुगेर कोणसभा भएको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री शाहको तस्बिर दहन गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।

कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता चोत्लुङ याक्थुङबाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने माग गरे। उनले राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा सरकार थप जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे।

वक्ताहरूले सुकुम्बासी बस्तीमाथि भएको डोजर प्रयोगप्रति पनि असन्तुष्टि जनाएका थिए। वास्तविक भूमिहीन नागरिकको आवास अधिकार सुनिश्चित गर्न, लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउन तथा गरिब जनताको बसोबासको संरक्षण गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

IMG_20260601_182639

IMG_20260601_182455

IMG_20260601_182459