सुनसरी । कोशी प्रदेशका २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म २२ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १५ सिट जित्दै प्रदेशमा उल्लेखनीय अग्रता हासिल गरेको छ।

रास्वपाले झापा, मोरङ, उदयपुर र ओखलढुंगा जिल्लामा क्लीन स्वीप गरेको छ। झापाका पाँचै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर १ मा निशा डाँगी, २ मा इन्दिरा राना, ३ मा प्रकाश पाठक, ४ मा शम्भु प्रसाद ढकाल र ५ मा बालेन्द्र शाह निर्वाचित भएका छन्।

मोरङका छ वटै क्षेत्रमा पनि रास्वपाले जित निकालेको छ। मोरङ–१ मा यज्ञमणि न्यौपाने, २ मा कृष्ण कार्की, ३ मा गणेश कार्की, ४ मा सन्तोष राजवंशी, ५ मा आशा झा र ६ मा रुविना आचार्य विजयी भएका छन्।

यसैगरी उदयपुरका दुवै क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ। उदयपुर–१ बाट पारशमणि गेलाल र उदयपुर–२ बाट सूर्यबहादुर तामाङ निर्वाचित भएका छन्। ओखलढुंगाबाट रास्वपाका विश्वमणि पोखरेल विजयी बनेका छन्।

रास्वपापछि नेपाली कांग्रेसले हालसम्म ३ सिट जितेको छ भने नेकपा (एमाले) ले पनि ३ सिटमा सफलता पाएको छ। श्रम संस्कृति पार्टीले १ सिट जितेको छ।

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी भएका छन्। उनले नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूलाई पराजित गरेका हुन्। पाँचथरमा भने कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित भएका छन्। उनले श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई हराएका हुन्।

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन्। उनले कांग्रेसका भेषराज आचार्यलाई पराजित गरेका हुन्।

सुनसरीका चारमध्ये एक क्षेत्रमा रास्वपाका अशोककुमार चौधरी विजयी भएका छन्। सुनसरी–१ मा श्रम संस्कृति पार्टीका हर्कराज राई अग्रस्थानमा छन् भने क्षेत्र नम्बर २ र ४ मा रास्वपाका उम्मेदवार अगाडि रहेका छन्।

यसैगरी खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएका छन्। धनकुटामा एमालेका राजेन्द्र राई निर्वाचित हुँदा तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा र सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी भएका छन्।

बाँकी निर्वाचन क्षेत्रको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।