धरान । धरान उपमहानगरपालिका–१३ मा आयोजित घरदैलो कार्यक्रममा वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले ले चिन्डे डाँडा जाने सडक निर्माणको जिम्मा दिन मतदातासँग आग्रह गरेका छन्।

देवी मार्गमा आयोजित कार्यक्रममा बोल्दै उनले सूर्य चिन्हले हारे पनि जिते पनि देवी मार्गदेखि चिन्डे डाँडा जाने माथिल्लो पुलसम्मको बाटो जिम्मा दिएमा निर्माण गरेरै छाड्ने घोषणा गरे। “हामीले यसअघि पनि काम गरेका छौँ, अब बाटो निर्माण गरेर देखाउँछौँ,” उनले भने।

उनले कोशी प्रदेशका पूर्व सभामुख प्रदीप भण्डारी को पहलमा चिन्डे डाँडा जाने पुल निर्माण भएको स्मरण गराउँदै पुल निर्माणपछि देवी मार्ग क्षेत्रको व्यापार–व्यवसाय विस्तार हुनुका साथै क्षेत्र पर्यटकीय सम्भावना बोकेको स्थानका रूपमा विकास हुँदै गएको बताए। “हामीले पुल बनायौँ, अब ढुक्क भएर मत दिनुस्, बाटो पनि निर्माण हुन्छ,” उनले जोड दिए।

वडा अध्यक्ष काफ्लेको कार्यकाल अझै १८ महिना बाँकी रहेको उल्लेख गर्दै उनले स्थानीय तह, प्रदेशसभा र संघीय प्रतिनिधिसभाबीच समन्वय भए धरान–१३ मात्र नभई सुनसरी क्षेत्र नम्बर १ को समग्र विकास सम्भव हुने दाबी गरे। उनले मतदातासँग विश्वासका साथ मत दिन आग्रह गरे।

यस अवसरमा सुनसरी क्षेत्र नम्बर १ का लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रत्यक्ष उम्मेदवार टिकाराम लिम्बु ले सुनसरी क्षेत्र नम्बर १ को समग्र विकासमार्फत “समृद्ध नेपाल, सुखी नेपाली”को एमालेकाे राष्ट्रिय अभियानलाई स्थानीय तहबाटै साकार पार्ने प्रतिबद्धता व्यक्त गरे। उनले भ्रष्टाचार नियन्त्रण, सुशासन तथा विकासको गतिलाई तीव्रताका साथ अघि बढाउने स्पष्ट योजना रहेको बताए। “अब विकासले गति लिनुपर्छ, काम परिणाममा देखिनुपर्छ। पारदर्शिता, प्रविधिमैत्री सेवा प्रवाह र युवामुखी रोजगारी सिर्जना हाम्रो प्राथमिकता हो,” उनले भने। घरदैलोका क्रममा उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन तथा स्वरोजगारका अवसर विस्तार गर्दै सुनसरी क्षेत्र नम्बर १ लाई नमुना क्षेत्रका रूपमा विकास गर्ने अठोट व्यक्त गरेका छन्।

घरदैलो अभियानमा पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्व सभामुख प्रदीप भण्डारी तथा प्रदेशसभा सदस्य विजय राई लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा युवा तथा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको थियो।

-सन्देश तिमल्सिना