हङकङ। — हङकङस्थित नेपाली व्यवसायी समूहले ब्लू–कलर कामदारलाई लक्षित गर्दै “JobLink Connect” नामक मोबाइल एपको बेटा संस्करण सार्वजनिक गरेको छ। सोमबार औपचारिक रूपमा सुरु गरिएको उक्त एप हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा विकास गरिएको सम्भवतः पहिलो रोजगारी–केन्द्रित डिजिटल प्लेटफर्म भएको दाबी गरिएको छ।

एपका संस्थापक डिके दाहालका अनुसार JobLink Connect ले कामदार र रोजगारदातालाई सिधै जोड्ने उद्देश्य राखेको छ। यसमार्फत कामदारले घरमै बसेर आफ्नो सिप र दक्षताका आधारमा काम खोज्न सक्नेछन् भने रोजगारदाताले पनि आवश्यक जनशक्ति सजिलै भेट्टाउन सक्नेछन्।

JobLink को अवधारणा CUHK EMBA अन्तर्गत MIT Hong Kong Innovation Node को “Think Like an Innovator” पाठ्यक्रम अध्ययनका क्रममा परिष्कृत गरिएको हो। यो प्लेटफर्म सन् २०१४ मा नेपाली समुदायलाई लक्षित गर्दै Viber र Facebook मा सुरु गरिएको “कन्स्ट्रक्सन ग्रुप” को डिजिटल रूपान्तरणका रूपमा विकास गरिएको जनाइएको छ।
एप मोबाइल–फ्रेन्डली रहेको र विशेषगरी ब्लू–कलर कामदारलाई सम्बन्धित रोजगारदातासँग छिटो र प्रभावकारी रूपमा जोड्न डिजाइन गरिएको विकास टिमले जनाएको छ। निर्माण, फुड एण्ड बेभरेज (F&B), घरेलु सहयोगी, सेक्युरिटी गार्ड तथा बडीगार्ड, ड्राइभर, उत्पादन तथा म्यानुफ्याक्चरिङ, यातायात तथा लजिस्टिक्स, मर्मत तथा जडान, हेल्थकेयर सपोर्ट लगायतका क्षेत्रमा रोजगारी अवसर समेटिएको छ।
हाल हङकङमा रोजगारी अभावका कारण धेरै नेपाली कामदार प्रभावित भइरहेका बेला JobLink Connect उपयोगी माध्यम बन्न सक्ने अपेक्षा गरिएको छ। एप सार्वजनिक भएसँगै हङकङको नेपाली समुदायमा यसको व्यापक प्रचार–प्रसार आवश्यक रहेको टिमले जनाएको छ।

हङकङबाट सुरु गरिएको यो सेवा निकट भविष्यमा नेपालसहित अन्य देशहरूमा पनि विस्तार गर्ने योजना रहेको संस्थापक दाहालले जानकारी दिएका छन्।
समुदायलाई सशक्त बनाउने लक्ष्यसहित सुरु गरिएको यस प्लेटफर्मलाई बढीभन्दा बढी प्रयोग र साझा गर्न JobLink Connect टिमले सबैमा अपिल गरेको छ।


