धरान । सुनचाँदी व्यवसायीहरूलाई लक्षित गर्दै नेपाल सुनचाँदी कला व्यवसायी संघले सम्पत्ति शुद्धिकरण निवारण ऐन, विलासिता शुल्क र लेखासम्बन्धी विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार संघको सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा संघका सुनसरी जिल्ला अध्यक्ष प्रदीप गहतराजको अध्यक्षता रहेको थियो भने संघका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा अध्यक्ष गहतराजले विलासिता शुल्क सुनचाँदी व्यवसायीका लागि गम्भीर समस्या बनेको बताएका छन्। सुनको मूल्य आकासिँदा बाहिरबाट व्यवसायी मालामाल देखिए पनि वास्तविकतामा व्यवसाय धरासायी बन्दै गएको उनको भनाइ थियो।

उनले व्यवसायीमाथि विभिन्न शीर्षकमा चन्दा आतंक बढ्दै गएको उल्लेख गर्दै विलासिता करकै कारण धेरै व्यवसायी पेशा छोड्ने अवस्थामा पुगेको चेतावनी दिए।प्रशिक्षण कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृत रविनलाल दास र सिर्जन भण्डारीले सहजीकरण गरेका थिए।संघका जिल्ला सचिव रमेश कालिकोटेका अनुसार कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ, नेपाल सुनचाँदी कला व्यवसायी संघका केन्द्रीय महासचिव बालकुमार लामिछाने, केन्द्रीय सचिव प्रेमबहादुर विश्वकर्मी, केन्द्रीय कार्यकारिणी निर्देशक हरि रसाइली, संघका सुनसरी शाखाका निवर्तमान अध्यक्ष दुर्गा बहादुर विश्वकर्मा तथा इलाका प्रहरी कार्यालय धरानका असई रविन पाण्डेलगायतको उपस्थिति रहेको थियो।त्यसैगरी धनकुटा, झापा र तेह्रथुम जिल्लाबाट आएका पदाधिकारी तथा व्यवसायीहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो।