धरान, — शिक्षा केवल ज्ञानको साधन मात्र होइन, समाजको रुपान्तरणको आधार पनि हो। र जब शिक्षा ऐतिहासिक परिवेश, सैनिक पृष्ठभूमि र संस्कारसँग जोडिन्छ, तब त्यो संस्था केवल विद्यालय भएर सीमित रहँदैन—समाजको स्मृति, गौरव र प्रेरणाको स्रोत बन्छ। यस्तै एक संस्था हो धरान उपमहानगरपालिका–१८ मा अवस्थित डिपोट स्कुल, जुन धरानकै मात्र नभई सम्पूर्ण पूर्वी नेपालको शैक्षिक, सामाजिक र ऐतिहासिक सन्दर्भमा विशेष महत्त्व बोकेको विद्यालय हो।

ब्रिटिस गोर्खा क्याम्पसँगै सुरुआत

यो स्कुलको इतिहास धरानमा बेलायती गोर्खा सैनिकहरूको बसोबास र गतिविधिसँग अङ्गीकृत छ। वि.सं. २०१० को दशकतिर धरानमा ब्रिटिस गोर्खा सैनिकको बाक्लो उपस्थिति थियो। बेलायत सरकारले आफ्ना गोर्खा सैनिकहरूको    सन्तानलाई गुणस्तरीय शिक्षा दिने लक्ष्यसहित स्थापना गरियो — डिपोट स्कुल

धेरैले थाहा नपाउन सक्छन्, यो स्कुल बेलायती सरकारले नै स्थापना तथा सञ्चालन गरेको थियो, जसमा अंग्रेजी माध्यममा प्राथमिकदेखि माध्यमिक तहसम्मको शिक्षा प्रदान गरिन्थ्यो मुख्यतः गोर्खा सैनिकका छोराछोरीलाई लक्षित गरी स्थापना गरिए पनि पछि यो स्कुल धरानको सबै समुदायका लागि खुला बन्यो, जसले गर्दा यसको पहुँच र प्रभाव अझ व्यापक बन्यो।

शिक्षा, अनुशासन र संस्कारको त्रिवेणी

डिपोट स्कुल केवल पठनपाठनको केन्द्र मात्र थिएन। यो अनुशासन, नैतिकता, भद्र व्यवहार र जीवनपद्धतिको पनि प्रशिक्षणस्थल थियो। बेलायती सैन्य संस्कारसँग जोडिएर सञ्चालन गरिएको हुनाले विद्यालयमा समयपालन, पोशाक अनुशासन, स्वच्छता, नियमित अभ्यासजस्ता कुरामा विशेष ध्यान दिइन्थ्यो।

शिक्षकहरू प्रायः बेलायती शिक्षण पद्धतिमा प्रशिक्षित थिए। अंग्रेजी भाषाको सशक्त प्रयोग, विद्यार्थीको आत्मविश्वास निर्माण, व्यक्तित्व विकास, खेलकुद र सह-पाठ्यक्रम गतिविधिमा पनि यथेष्ठ महत्व दिइन्थ्यो। यस स्कुलमा पढेका विद्यार्थीहरू हाल विभिन्न पेशा र भूमिकामा रहेर जीवनमा सफलता प्राप्त गरिरहेका छन्, जसले यसको गुणस्तरीय शिक्षाको प्रमाण दिन्छ।

नेपाल, भारत र बेलायतका गोर्खा परिवारहरूको साझा थलो

डिपोट स्कुल एक किसिमको अन्तर्राष्ट्रिय सामुदायिक विद्यालयको रूपमै विकसित भएको थियो। यहाँ पढ्ने अधिकांश बालबालिका नेपाली गोर्खा सैनिकका थिए, तर भारत र बेलायतका गोर्खा परिवारका बालबालिकाको सहभागिता पनि उत्तिकै थियो। त्यसले स्कुलमा बहुसांस्कृतिक वातावरण सिर्जना गरेको थियो, जहाँ भाषा, संस्कृति र अनुशासनले एउटै धरातलमा सबैलाई जोडेको थियो।

ब्रिटिस गोर्खा क्याम्प हटेपछि परिवर्तनको सुरुआत

सन् १९९० को दशकतिर धरानबाट ब्रिटिस गोर्खा क्याम्प हटेपछि डिपोट स्कुल पनि नयाँ मोडमा प्रवेश गर्‍यो। बेलायती सहयोग हटेपछि स्कुललाई  पुर्व गाेरखा सैनिकहरूले संरक्षण र सञ्चालन गर्न थाले। पूर्व विद्यार्थीहरू, स्थानीय समाज र शिक्षा प्रेमीहरूले विद्यालयको निरन्तरता सुनिश्चित गर्न विभिन्न पहल गरे। विद्यालयको स्वरूप परिवर्तन भयो, शिक्षण माध्यम र पाठ्यक्रममा पनि सुधार गरियो। तर यसको मूल आत्मा—अनुशासन, संस्कार र ऐतिहासिक गौरव—अझै जीवित छ।

इतिहासलाई सम्झिँदै वर्तमान र भविष्यको जगेर्ना

डिपोट स्कुल आज पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरभित्र सञ्चालन भइरहेकै छ। यद्यपि भौतिक संरचना, पाठ्यक्रम र सञ्चालन व्यवस्थामा परिवर्तन आएको छ, तर विद्यालयको ऐतिहासिक महत्त्व र योगदान भने उत्तिकै सम्मानका साथ सम्झिने गरिएको छ।

पूर्व विद्यार्थीहरूको विभिन्न संघ–संस्थाले आज पनि विद्यालयको स्मृति संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गर्दछन्। विद्यालयलाई ऐतिहासिक सम्पदा घोषणा गर्नुपर्ने आवाजहरू पनि उठ्दै आएका छन्। किनभने यो स्कुल एउटा युगको प्रतिविम्ब हो—जहाँ सैनिक संस्कार, विदेशी सहयोग, स्थानीय सहभागिता र शिक्षा विकासको मिश्रण भेटिन्छ।डिपोट स्कुल केवल एउटा विद्यालय थिएन, यो धरानको भूगोल, समाज र इतिहाससँग जोडिएको एक अमूल्य सम्पदा हो। शिक्षा र संस्कारको माध्यमबाट समाजलाई रूपान्तरण गर्ने सपना बोकेको यो संस्था आज पनि धरानको सामूहिक स्मृतिमा जीवित छ। अबको चुनौती भनेको यसको संरक्षण, पुनर्संरचना र समृद्धि हो—यसो गर्न सकेमा डिपोट स्कुल फेरि पनि पूर्वी नेपालको नमुना विद्यालय बन्ने पक्कापक्की छ।