धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा स्थापित गर्नुपर्ने मागसहित काठमाडौं पुगेको धरानको सर्वदलीय टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विषय आफैंले चाहेको र त्यसमा सहमत रहेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले शुक्रबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा धरानबाट गएको टोलीसँगको भेटमा उक्त अभिव्यक्ति दिनुभएको हो।
सरकारले हालै “एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२” सार्वजनिक गरेपछि धरानसहित देशभरका विभिन्न स्थानमा रहेको ६ वटा स्वास्थ्य प्रतिष्ठानलाई एउटै कानुनी संरचनामा ल्याउने प्रयास सुरु भएको छ। सोही प्रक्रियामा वीपी प्रतिष्ठान पनि समेटिएपछि धरानमा व्यापक असन्तोष देखिएको छ। सो असन्तोषलाई व्यवस्थित गर्दै धरानका प्रमुख राजनीतिक दलहरूका प्रतिनिधिहरूले काठमाडौं पुगेर प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री ओलीसँग करिब आधा घण्टा लामो छलफल भएको र छलफल सकारात्मक भएको टोलीका सदस्य तथा नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीमज्वाला राईले जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्रीले प्रतिकृया दिंदै भने, “तपाईंहरूले ल्याउनु भएको विषय मेरो चाहना अनुसारकै हो।” प्रधानमन्त्रीले वीपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने योजना पहिल्यैदेखि रहेको पनि बताउनुभएको थियो।
टोलीमा नेकपा (एमाले) कोशी प्रदेश सदस्य मैसम राई, नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेल, नेकपा माओवादी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी पार्टी नेपाल धरान अध्यक्ष ताजुव लिम्बू, नेपाली कांग्रेसका कोशी प्रदेश सम्मेलन सदस्य कुसुम ओली आचार्य, नेपाली कांग्रेस धरान नगर सचिव हिमाल श्रेष्ठ, कांग्रेसका युवा नेता तथा यातायात व्यवसायी सरोज सिटौला, धरान उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) लगायत रहेका थिए।
सर्वदलीय टोलीले यसअघि पनि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वस्वास्थ्य मन्त्री तथा कांग्रेस नेता गगन थापा, वर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेललगायतसँग प्रत्यक्ष भेटघाट गरिसकेको छ। टोलीमा सहभागी नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेलका अनुसार यी सबै भेटघाटहरूमा सरकारका उच्च तहका नेताहरूले सकारात्मक दृष्टिकोण देखाएका छन्। उहाँले छलफल फलदायी रहेको टिप्पणी गर्नुभयो।
धरान नगरका प्रवक्ता एवं वडा नं. १७ का अध्यक्ष मनोज भट्टराईले पनि प्रधानमन्त्री, मन्त्री तथा पार्टी नेताहरूको धारणा सकारात्मक देखिएको र यो विषयमा अहिलेको momentum कायम राखेर निरन्तर लबिइङ गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार वीपी प्रतिष्ठानको मौलिकता, इतिहास र पूर्वी नेपालको शैक्षिक तथा स्वास्थ्य सेवा केन्द्रको हैसियतलाई मध्यनजर गर्दै यसलाई विश्वविद्यालयको रूपमा उभ्याउनु समयको माग हो।
जनता समाजवादी पार्टी नेपाल धरान नगर अध्यक्ष ताजुव लिम्बूले पनि टोलीको पहल अब निष्कर्षमुखी चरणमा प्रवेश गरिरहेको भन्दै “हामी धरान फर्किंदा परिणामसहित फर्किनेछौं” भन्नुभयो। उहाँका अनुसार अब नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग पुनः भेटघाट गरेर विषयलाई निष्कर्षमा पुर्याउने तयारी भइरहेको छ। धरानको यो पहलले केवल एक स्थानीय संस्थाको भविष्य मात्र तय गर्ने छैन, यो मुलुकको स्वास्थ्य शिक्षा नीतिमा दीर्घकालीन प्रभाव पार्ने संवेदनशील मोडमा पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थागत विकास, त्यसको स्वायत्तता र गुणस्तरीयता कायम गर्न वर्तमान राजनीतिक सहमति निर्णायक हुनसक्छ। त्यसैले यो अभियानमा धरान मात्र होइन, सम्पूर्ण पूर्वी नेपालको आशा र अपेक्षा जोडिएको देखिन्छ।


