सुनसरी, सुनसरी जिल्लामा ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरिएको छ। धरान र इटहरी क्षेत्रमा गरिएको प्रहरी कारबाहीमा ४ हजार २ सय ३० किलोग्राम गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिइएका छन्।
असार २ गते धरान उपमहानगरपालिका–१३, शिवधारास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रक जाँच गर्ने क्रममा २ हजार १ सय ३० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। अदुवा र बन्दाकोबी लोड गरिएको देखिए पनि, त्यही ट्रकमा ७० वटा प्लास्टिकका बोरामा गाँजा लुकाइएका थिए।
यसैगरी, असार ३ गते इटहरी उपमहानगरपालिका–२०, तरहरा जंगल नजिकै इलाका प्रहरी कार्यालय इटहरीको टोलीले कोशी राजमार्गमा जाँचका क्रममा ना.५ ख ६११६ नम्बरको अर्को ट्रकमा २ हजार १ सय किलो गाँजा बरामद गरेको हो। उक्त गाँजा पनि बन्दाकोबी र आलुको बोराबाट ढाकेर ल्याइएको थियो।
गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा ट्रक चालक धनकुटा शहीदभूमि गाउँपालिका–६ का राजेन्द्र राई, सोही स्थानका सुनिल राई, र सुनसरी बराहक्षेत्र–९ का सुमन राईलाई पक्राउ गरिएको छ।
त्यसैगरी, चेकजाँचकै क्रममा धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा इलाका प्रहरी कार्यालय भेडेटारले पाख्रिवास नगरपालिका–८ का नारायण प्रसाद राईलाई ९ किलो ९ सय ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।


