धरान ः भारतबाट नेपालतर्फ लागू औषध ब्राउन सुगर ल्याउँदै गरेका आठ जना युवा सुनसरीको सीमावर्ती क्षेत्र लौकहीमा प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडि भारतबाट नेपाल पस्दै गरेका शंकास्पद व्यक्ति तथा स्कुटर सवारहरूको चेकजाँच गर्दा ब्राउन सुगरसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका मध्ये ईटहरी उपमहानगरपालिका–५ का ३३ वर्षीय अजय चौधरीको साथबाट २.४७ ग्राम ब्राउन सुगर फेला परेको छ। कोशी गाउँपालिका–१ बस्ने १८ वर्षीय हिमाल कुमार मण्डलको साथबाट ३.२४ ग्राम, सोही ठाउँका करण कुमार मण्डल भने खाली हात थिए। कोशी गाउँपालिका–२ का २१ वर्षीय दयानन्द कुमार यादवबाट १.४० ग्राम, धरान–१७ का २७ वर्षीय बिवेक बिश्वकर्माबाट २.१५ ग्राम, धरान–१७ कै स्कुटर चालक १८ वर्षीय संगम राईको साथबाट २.२३ ग्राम लागू औषध बरामद गरिएको छ। संगमको स्कुटरमा पछाडि सवार धरान–१९ निवासी सिमसन राईको साथमा भने लागू औषध फेला परेको छैन।

बराहक्षेत्र नगरपालिका–७ का २२ वर्षीय कौशल कालिकोटेको साथबाट ६.५३ ग्राम लागू औषध भेटिएको छ। उनको स्कुटरमा सवार रहेका याकुव राईको साथबाट पनि ४.७९ ग्राम ब्राउन सुगर बरामद गरिएको छ। सबैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

यस घटनामा जम्मा २२.८१ ग्राम (बाईस ग्राम आठ सय दश मिलिग्राम) लागू औषध ब्राउन सुगर बरामद गरिएको छ भने तस्करीमा प्रयोग भएको स्कुटरहरू पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भारतसँग खुला सिमाना भएकाले लागू औषध कारोबार तीव्र रुपमा बढिरहेको छ। विशेषगरी ब्राउन सुगर लगायतका पदार्थहरू नेपाल भित्र्याउने सञ्जाल सक्रिय रहँदै आएको छ। पछिल्लो समय युवाहरू यसमा संलग्न भइरहेका घटना दोहोरिन थालेका छन्। प्रहरीले लागू औषध नियन्त्रणमा सशक्त र संयुक्त अभियान सञ्चालन भइरहेको जनाएको छ। पक्राउ परेकाहरूविरुद्ध लागू औषधसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी उपरिक्षक याेगराज खतिवाेडाले जानकारी दिए ।