मोरङ, मोरङको ग्रामथान गाउँपालिका–७ स्थित कलाबन्जार चोकबाट लागुऔषध गाँजा ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ। पक्राउ परेकासँगै प्रहरीले ३४७ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।
गत जेठ २० गते राति कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर अन्तर्गतको प्रादेशिक अनुसन्धान समूह तथा इलाका प्रहरी कार्यालय बेलबारी र हरैचाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा ग्रामथान–७ कलाबन्जार चोकमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा संकास्पद अवस्थामा रहेको प्रदेश १–०४–००१ प ९८३५ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिइएको थियो। पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–५ बस्ने ३० वर्षीय राजेश कुमार कामत,भारत बिहार राज्यको अररिया जिल्ला पर्वाहा ग्राम पंचायत बस्ने ३२ वर्षीय विकास कुमार साहु रहेका छन्।
प्रारम्भिक सोधपुछमा उनीहरूले नजिकै रहेको एक होमपाइप नालीमा गाँजा लुकाएको बताएका थिए। सो सूचनाको आधारमा प्रहरीले खनेर हेर्दा प्लास्टिकले बेरिएका १२ पोका गाँजा फेला परेको हो। बरामद गाँजाको तौल ३४७.११० किलोग्राम रहेको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएपछि प्रहरीले ओसारपसारमा प्रयोग गरिएको सेतो रङको, नम्बर प्लेट नभएको टाटा सुमो र उक्त मोटरसाइकलसहित दुवै अभियुक्तलाई नियन्त्रणमा लिएको छ।
हाल पक्राउ परेका व्यक्तिहरूलाई लागू औषध सम्बन्धी मुद्दा अन्तर्गत आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
प्रहरीका अनुसार सीमावर्ती क्षेत्र हुँदै भारततर्फ लागुऔषध गाँजाको अवैध तस्करी हुँदै आएकोमा पछिल्लो समय स्थानीय र विदेशी नागरिकहरू संगठित रूपमा संलग्न रहेको पाइएको छ।


