सुनसरी | सुनसरी जिल्लाको दुहबी नगरपालिका–११ स्थित तनमुना क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा प्रहरीले ४३८ किलो गाँजा बरामद गर्नुका साथै भारतको नम्बर प्लेट रहेको स्कार्पियो गाडी पनि नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिमल्सिनाको कमाण्डमा खटिएको टोलीले १५ गते (बिहान ३:०० बजे तिर) तनमुना नहरचोक–शुक्रबारे भित्री सडकखण्डमा WB 06 H 2858 नम्बरको भारतीय स्कार्पियो चेकजाँचका क्रममा रोकेको थियो।
तर प्रहरीलाई देख्नेबित्तिकै गाडी चालक स्कार्पियो छाडेर फरार भएका थिए। गाडीलाई नियन्त्रणमा लिएर गरिएको खानतलासीका क्रममा प्लास्टिकका पोकामा प्याक गरिएको १४ पोका गाँजा फेला परेको हो। ती पोकाहरूको कुल तौल ४३८ केजी रहेको प्रहरीले जनाएको छ।
हाल बरामद गाँजा र स्कार्पियो गाडी इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ। फरार चालकको पहिचान र पक्राउका लागि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरि कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले वताए । लागु औषध तस्करीमा नियन्त्रण तथा आपराधिक क्रियाकलापमा संलग्न समूहहरू विरुद्ध निगरानी वढाएकाे उनले जानकारी दिए ।


