काठमाडौं,– आउँदो मनसुनमा करिब १२ लाखभन्दा बढी जनसंख्या जोखिममा पर्ने अनुमानसहित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ४५ अर्ब रुपैयाँभन्दा बढीको पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत गरेको छ।
बुधबार गृह मन्त्रालयका सचिव तथा कार्यकारी समितिका अध्यक्ष धनराज घिमिरेको अध्यक्षतामा बसेको ३२औँ बैठकले “मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१” अनुमोदन गर्दै विभिन्न मन्त्रालय, विभाग तथा निकायहरूसँग समन्वयमा योजना कार्यान्वयन गर्ने निर्णय गरेको हो।
बैठकमा प्रस्तुत कार्ययोजनाअनुसार मनसुनको समयमा पहिरो, डुबान, बाढी तथा आगलागीका घटनाबाट जनधनको क्षति हुनसक्ने अनुमान गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आपतकालीन गोदाम सन्चालन कार्यविधि २०७९ को संशोधन प्रस्ताव समेत सैद्धान्तिक स्वीकृतिका लागि बैठकमा पेस गरिएको थियो।
बैठकमा हालसम्म १० जिल्लामा विपद्का कारण मानवीय र भौतिक क्षति भएको जानकारी दिइएको छ। स्थानीय तहहरूमा तयारी कमजोर रहेकाले पुनः तयारी तीव्र पार्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।प्राधिकरणका अनुसार चालु आर्थिक वर्षका अनुभवको आधारमा आगामी वर्ष २०८१/८२ को वार्षिक कार्ययोजना समेत तयार पारिएको छ।


