धरान ः कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण गर्दै नागरिकमैत्री, पिडितमुखी र शून्य सहनशीलता नीतिअनुसार व्यवसायिक प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। निरीक्षणको क्रममा प्रमुख कार्कीले कार्यालय परिसर, शाखाहरू तथा हिरासत कक्षको अवलोकन गर्नुका साथै वृक्षारोपण समेत गरेका छन्।
निरीक्षणपछि उनले सुनसरीका प्रहरी अधिकृत तथा कर्मचारीहरूलाई निर्देशित गर्दै प्रहरी सेवा जनमैत्री बनाउनेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, “प्रहरीले पिडितमुखी सेवा प्रवाह गर्नुपर्छ, जसले आम नागरिकको विश्वास जित्न सकियोस्। आर्थिक प्रलोभनमा नपरी, शून्य सहनशीलताको नीति अवलम्बन गरी समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु जरुरी छ।”
उनले दैनिकी काम कारबाहीलाई चुस्त, दुरुस्त बनाएर अभिलेखिकरण गर्न, फरार प्रतिवादी खोजीमा सक्रिय हुन, सीमाबाट हुने अवैध तस्करी नियन्त्रण गर्न र लागूऔषधको ओसारपसार रोक्न निर्देशन दिएका छन्।
त्यसैगरी ट्राफिक चेकिङ कडाइका साथ गर्न, मापसे नियन्त्रण तथा सवारी दुर्घटनाको न्यूनीकरणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्न, वर्षात्को समयमा सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहनसमेत उनले निर्देशन दिए। निरीक्षण भ्रमणका क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्ययोजना तथा सुरक्षा चुनौतीबारे जानकारी गराएका थिए।


