धरान, । पूर्वी नेपालका विभिन्न जिल्लामा सोमबार मात्र १३ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ३९ जना घाइते भएका छन्। मोरङ, झापा, सुनसरी, खोटाङ र तेह्रथुम जिल्लामा भएका ती दुर्घटनाले सवारीसाधनहरूमा सामान्य क्षति पुर्‍याएको छ।

खोटाङको विजुलेमा काठमाडाैंतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खस्दा चालक इन्द्र राई सामान्य घाइते भएका छन्। गाडीको अगाडिको भाग र साइडको सिसा फुटेको छ।सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा ब्रेक फेल भएको यात्रुबाहक बस सडकबाट तल खस्दा आठ जना घाइते भएका छन्। घाइतेमध्ये महिला र बालबालिका पनि रहेका छन्।

माेरङको उर्लाबारीमा बसले स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। पथरी, सुनवर्षी, कटहरी र धनपालथानमा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेर केही व्यक्ति घाइते भएका छन्। कतिपय दुर्घटना सवारीसाधन आफैं अनियन्त्रित भएर भएका छन् भने केही सवारी ठक्करबाट भएका हुन्।

झापाको बाह्रदशी र कमल गाउँपालिकामा ट्याक्टर, मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा सर्वसाधारण घाइते भएका छन्। झापा र मोरङका विभिन्न स्थानमा पैदलयात्री तथा साइकलयात्रीलाई मोटरसाइकलले ठक्कर दिएको घटना पनि भएका छन्।तेह्रथुमको म्याङलुङ बसपार्कबाट हलिमेला जाँदै गरेको मोटरसाइकल कुकुर अचानक सडकमा आएपछि अनियन्त्रित भई दुर्घटना भएको हो। चालक सन्तोष बराल र पछाडि सवार गोविन्द कार्की सामान्य घाइते भएका छन्। कार्कीलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ।ट्राफिक प्रहरीका अनुसार तीव्र गति, चालकको लापरवाही तथा सडकमा देखिने अकस्मात् अवरोधका कारण अधिकांश दुर्घटना भएका हुन्। सबै घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।