प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड—१९ लाई पराजित गर्नु  पर्ने बताएका छन् । 

गणतन्त्र दिवस २०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राईले कोभिडलाई पराजित गर्ने सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शासन प्रणाली मात्र नभई जीवन पद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको मुख्यमन्त्री राईको भनाइ छ ।

सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भन्दै मुख्यमन्त्री राईले निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध भएको सन्देशमा उल्लेख गरेका छन् । 

गत वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड—१९० का कारण गणतन्त्र दिवस खुला र भव्य रुपमा आयोजना गरी मनाउन सम्भव नभएको उल्लेख गर्दै मुख्यमन्त्री राईले कोरोना भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन विशेष अपील समेत गरेका छन् । साथै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन, समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड—१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने पनि मुख्यमन्त्री राईले शुभकामना व्यक्त गरेका छन् । 

एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका हुन् । गणतन्त्र प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले बेपत्ता योद्धाहरुप्रति पनि उच्च सम्मान व्यक्त गरेका छन् । घाइते तथा अपांग योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको पनि मुख्यमन्त्री राईले कामना गरेका छन् ।