सुनसरी,:धरान–१४ स्थित Ideal English Boarding School Dharan ले शिक्षण प्रणालीमा व्यापक सुधार गर्दै आधुनिक, व्यवहारमुखी तथा गुणस्तरीय शिक्षा लागू गर्ने घोषणा गरेको छ।
दुई दशकभन्दा लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको विद्यालयले Kathmandu University सँगको सहकार्यमा व्यवस्थित शैक्षिक रूपान्तरण योजना अघि सारेको हो।
विद्यालयका निर्देशक सागर खड्काका अनुसार नयाँ योजना शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्षलाई समेटेर तयार पारिएको छ, जसले दीर्घकालीन रूपमा शिक्षण–सिकाइ प्रक्रियामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
शिक्षक तालिम र क्षमता अभिवृद्धि
नयाँ योजनाअनुसार शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि प्रत्येक महिना नियमित तालिम सञ्चालन गरिनेछ। अनलाइन र प्रत्यक्ष दुवै माध्यमबाट सञ्चालन हुने तालिमले शिक्षकको पढाउने शैली, विषयवस्तु प्रस्तुत गर्ने सीप तथा प्रविधि प्रयोगमा सुधार ल्याउने विश्वास गरिएको छ।
निरन्तर मूल्याङ्कन प्रणाली
विद्यालयले विद्यार्थीहरूको सिकाइ अवस्थालाई नजिकबाट अनुगमन गर्न हरेक दुई त्रैमासिक परीक्षाबिच चारपटक मूल्याङ्कन गर्ने व्यवस्था गरेको छ। यसले विद्यार्थीको कमजोरी समयमै पहिचान गरी सुधार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यसैगरी, कक्षाको गुणस्तर सुनिश्चित गर्न परीक्षाबिच दुईपटक कक्षा अनुगमन गरिनेछ।
घोकाइबाट व्यवहारमुखी शिक्षातर्फ
परम्परागत घोकाइ प्रणालीलाई विस्थापित गर्दै विद्यालयले अब व्यवहारमा आधारित सिकाइलाई प्राथमिकता दिने भएको छ। हप्तामा एकपटक सञ्चालन हुने परियोजना आधारित सिकाइमार्फत विद्यार्थीहरूले आफैं काम गरेर सिक्ने अवसर पाउनेछन्।
साथै, विषयहरूलाई आपसमा जोडेर पढाउने अन्तरविषय प्रणाली पनि लागू गरिने जनाइएको छ।
गणित शिक्षणमा नवीनता
गणित विषयलाई सरल र रुचिकर बनाउन नयाँ शिक्षण विधि अपनाइनेछ, जसले विद्यार्थीमा समस्या समाधान क्षमता र विश्लेषणात्मक सोच विकास गर्ने लक्ष्य राखिएको छ।
अभिभावक सहभागिता र सिर्जनात्मक कार्यक्रम
अभिभावकसँगको सहकार्यलाई मजबुत बनाउन वर्षमा दुईपटक अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।
यसैगरी,
दशैँ–तिहारमा पाठ्यक्रम अन्तरक्रिया
वर्षमा चारपटक सिर्जनात्मक कार्यक्रम
वर्षमा एकपटक शैक्षिक मेला
जस्ता गतिविधि सञ्चालन गरिनेछन्। शैक्षिक मेलामा विद्यार्थीहरूले आफ्ना परियोजना र अनुसन्धान प्रस्तुत गर्ने अवसर पाउनेछन्।
प्रविधि र अनुशासनमा जोड
विद्यालयले यसअघि नै प्रविधिमा आधारित कक्षा, डिजिटल पुस्तकालय, भाषा सिकाइ कक्षा तथा Nepali Army सँगको सहकार्यमा अनुशासन र नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ।
साथै, अन्तर्राष्ट्रिय exposure का लागि विदेश अवलोकन कार्यक्रम र सैनिक परिवारका सन्तानका लागि छात्रवृत्ति व्यवस्था पनि गरिएको छ।
‘किताबभन्दा बाहिरको शिक्षा’
निर्देशक खड्काले भने, “हामीले शिक्षालाई किताबमा सीमित नराखी व्यावहारिक, सिर्जनात्मक र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएका छौँ। शिक्षक विकासदेखि विद्यार्थीको सीप अभिवृद्धि र अभिभावकको सहभागितासम्म सबै पक्षलाई समेटेका छौँ।”
उनका अनुसार विश्वविद्यालयसँगको सहकार्यले विद्यालयलाई अझ उच्च स्तरमा पुर्याउने विश्वास गरिएको छ।
गुणस्तरीय शिक्षाको केन्द्र बन्ने लक्ष्य
सुविधासम्पन्न भौतिक संरचना, शान्त वातावरण, अनुभवी शिक्षक र स्पष्ट शैक्षिक योजनासहित आइडियल इङ्लिस बोर्डिङ स्कुल अब धरानमै आधुनिक र गुणस्तरीय शिक्षाको भरोसायोग्य केन्द्र बन्ने दिशामा अघि बढिरहेको विद्यालयले जनाएको छ।

