सुनसरी–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्र यतिबेला विकास, पूर्वाधार, सांस्कृतिक विविधता र सामाजिक एकताको बहसले तातेको छ । यही सन्दर्भमा “भूगोल र मन जोड्ने” नीतिगत अवधारणा अगाडि सार्दै उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टि (नेकपा) काे तर्फ वाट  उम्मेदवार बनेका मनाेज भट्टराई सँग हामीले उनको दृष्टिकोण, योजना र प्रतिबद्धताबारे विस्तृत कुराकानी गरेका छौं । प्रस्तुत छ सो अन्तरवार्ताको सम्पादित अंशः
प्रश्न: तपाईंको उम्मेदवारी के का लागि हो ?
उत्तर: मेरो उम्मेदवारी सैद्धान्तिकरुपमा मुख्यतयः भूगोल र मनलाई जोड्ने उद्देश्यका लागि हो । यसकोलागि नीतिगत तहमा उपस्थितिको आवश्यकता पर्छ । सुनसरी–१ बाट निर्वाचित भएँ भने नीतिगत निर्णय गर्ने तहमा मेरो उपस्थिति यही दिशामा केन्द्रित रहनेछ ।
प्रश्न: भूगोल र मन जोड्ने कुरा व्यवहारमा कसरी सम्भव छ ?
उत्तर: असम्भव जस्तो देखिने कुरालाई सम्भव बनाउने कुरा नेतृत्व, रणनीति र कार्यनीतिमा भर पर्छ । हामीले तयार पारेको रणनीतिअनुसार दुई आधार छन् — पहिलो ‘फिजिकल्ली’ र दोस्रो ‘स्पिरिचुअल्ली’ । भौतिकरुपमा क्षेत्रका मुख्य नाकाहरूबीच पूर्वाधार विकास गरेर भूगोल जोड्ने, र आस्थाका केन्द्रहरूलाई एउटै योजनामा राखेर प्रवर्द्धन गर्ने । यी दुई कामसँगै अघि बढ्दा भूगोल र मन दुवै जोडिन्छन् ।
प्रश्न: यो त विकासको एजेन्डा जस्तो देखियो, निर्वाचन त विकास निर्माणका लागि मात्र होइन नि ?
उत्तर: हो, निर्वाचन प्रत्यक्ष विकास निर्माण गर्ने थलो होइन, नीतिगत निर्णय गर्ने थलो हो । तर विकासलाई नीतिबाट अलग गर्न सकिँदैन । बजेट छरेर मात्र विकास हुँदैन, संरचनागत नीति र मोडेल चाहिन्छ । त्यसैले स्थानीय जीवनमा प्रभाव पार्ने विषयलाई नीतिमा ढालेर अघि बढ्नुपर्छ ।
प्रश्न: मतदाताले तपाईंलाई किन विश्वास गर्ने ?
उत्तर: म यहीँको रैथाने व्यक्ति हुँ । चुनावका बेला मात्र आउने होइन, यही समाजमा बाँचेको मान्छे हुँ । यहाँको अर्मपर्म, बिहेबटुलो, सुखदुःखमा सधैँ जोडिएको छु । मैले प्रतिबद्धता पूरा गरिनँ भने मतदाताले बाटोमा, चिया पसलमा वा घरमै आएर सोध्न सक्नुहुन्छ । रैथाने व्यक्तिलाई प्रश्नबाट भाग्न सजिलो हुँदैन ।
प्रश्न: तपाईंको निर्वाचन क्षेत्रको विशेषता के हो ?
उत्तर: यो क्षेत्र भूगोल र संस्कृतिका हिसाबले अत्यन्तै विविध छ । धरान क्षेत्रमा पहाडी आदिवासी समुदायको बाहुल्य छ । बराहक्षेत्र क्षेत्रमा खस–आर्य समुदायको प्रभाव देखिन्छ । रामधुनी तिर तराई मूलका आदिवासी समुदायको बसोबास छ । तीनै क्षेत्रमा धार्मिक आस्थाका केन्द्रहरू छन् । यही साझा विशेषतालाई सम्पत्तिका रूपमा विकास गर्न सकिन्छ ।
प्रश्न: गर्नैपर्ने मुख्य कामहरू के देख्नुभएको छ ?
उत्तर: धरानतिर खानेपानी र सुकुम्बासी व्यवस्थापन मुख्य समस्या हुन् । पहाडी वडाहरूमा सडक सञ्जाल विस्तार आवश्यक छ । बराहक्षेत्र क्षेत्रमा धरान–चतरा र नडहा सडक निर्माण जरुरी छ । चतराबाट सूर्यकुण्ड, चियाबारी, विष्णुपादुका हुँदै धरान जोड्ने सडक पनि प्राथमिकतामा छ । रामधुनी क्षेत्रमा डुबान समस्या समाधान, सेउती करिडोर र तटबन्धन, पर्यटकीय जलस्थल व्यवस्थापन तथा हात्तीको आतङ्क नियन्त्रणमा काम गर्नुपर्छ ।
प्रश्न: वडाध्यक्ष हुँदा गरेका उल्लेख्य कामहरू के के हुन् ?
उत्तर: भावनात्मक एकता निर्माण मेरो प्रमुख उपलब्धि हो । त्यसैले दुई पटक निर्वाचित भएँ । पूर्वाधारतर्फ चार लेन सडक, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना, खेलकुद प्रतियोगिता आयोजना, सार्वजनिक शौचालय निर्माण, ढल तथा करिडोर योजना, कोभिड समयमा राहत, क्वारेन्टाइन र दैनिक सयौँलाई खाना व्यवस्थाजस्ता काम सम्पन्न भए ।
प्रश्न: अन्त्यमा मतदातालाई के भन्न चाहनुहुन्छ ?
उत्तर: यो निर्वाचन भूगोल र मन जोड्ने अवसर हो । म स्पष्ट नीतिगत खाका र प्रतिबद्धतासहित उम्मेदवार बनेको छु । सम्पूर्ण मतदाताको भावनालाई सम्मान गर्दै तारा चिन्हमा मत दिएर अनुमोदन गरिदिनु हुन आग्रह गर्दछु ।