सुनसरी  — साविक विजेता न्यू रोड टिम (एनआरटी) २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल चरणमै प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार धरान रंगशालामा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा एनआरटी पहिलो पटक सहभागी प्लानिङ ब्वाइज युनाइटेडसँग २–० गोलले पराजित भएको हो ।

खेलको ४३औँ मिनेटमा प्लानिङ ब्वाइज युनाइटेडका विदेशी खेलाडी केबेले रमन भुजेलको पासमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ८६औँ मिनेटमा श्याम मुर्मुले पुनः रमन भुजेलकै पासमा गोल गर्दै प्लानिङ ब्वाइजको जित सुनिश्चित गरे ।

तीन पटक बुढासुब्बा गोल्डकपको उपाधि जितिसकेको एनआरटीले खेलभरि आधा दर्जनभन्दा बढी कर्नर तथा फ्रिकिक अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । चौथोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको एनआरटीका प्रयासहरू प्रभावहीन बने । एनआरटीले यसअघि २०६४, २०८० र २०८१ सालमा उपाधि हात पारेको छ ।   

यस जितसँगै पहिलो पटक प्रतियोगितामा सहभागी प्लानिङ ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । अब बुधबार हुने पहिलो सेमिफाइनल खेलमा प्लानिङ ब्वाइजले आयोजक धरान फुटबल क्लब र पोखराको लालिगुराँस एफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । लालिगुराँस एफसीले वाई पाएर सिधै क्वार्टरफाइनलमा स्थान बनाएको थियो भने आयोजक धरान फुटबल क्लबले भारतीय टोली जर्जियन फुटबल क्लबलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो ।  पहिलो पटक ए–डिभिजन लिगमा स्थान बनाएको प्लानिङ ब्वाइज युनाइटेडले सीमित अवसरलाई सदुपयोग गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो । ए–डिभिजन लिगमा तेस्रो स्थानमा रहेको प्लानिङ ब्वाइज पहिलो पटक ‘क’ वर्गको बुढासुब्बा गोल्डकपमा सहभागी भएको हो । खेलमा विपक्षी टोलीका सशक्त प्रहारहरू उत्कृष्ट रूपमा रोक्ने गोलरक्षक योगेश धिमाल ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । आइतबार साविक उपविजेता चर्च ब्वाइज युनाइटेड काठमाडौं र चार पटकको विजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफी, मेडलसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई डियो स्कुटर प्रदान गरिनेछ । प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।