धनकुटा/भेडेटार
कोशी प्रदेशको चर्चित पर्यटकीय गन्तव्य भेडेटारमा पाैष १६ देखि १८ गते सम्म हुन लागेको १३ औँ भेडेटार फुड फेस्टिवल को तयारी तीव्र रूपमा अघि बढाइएको छ। होटल एशोसिएसन भेडेटारको आयोजनामा हुन लागेको फेस्टिवलले स्थानीय पर्यटन, होटल व्यवसाय र कृषि उत्पादन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउने आयोजकको अपेक्षा छ।
साँगुरीगढी गाउँपालिका–६ मा पर्ने भेडेटार समुद्री सतहबाट १४२० देखि १५०५ मिटर उचाइमा अवस्थित रमणीय स्थल हो। एक दिनदेखि दुई दिनसम्म सहजै घुम्न सकिने यो स्थानलाई सीएनएनले विश्वकै घुम्नैपर्ने १२ गन्तव्यमध्ये एकका रूपमा सूचीकृत गरेपछि अन्तर्राष्ट्रिय स्तरमै यसको चर्चा बढेको छ।
फुड फेस्टिवल अवधिभर करिब २ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार र ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ। फेस्टिवलले स्थानीय जातीय, परम्परागत तथा अर्गानिक खानाको प्रवर्द्धन गर्नुका साथै कृषि, घरेलु उद्योग र साना–ठूला होटल व्यवसायलाई चलायमानहुने हाेटल एसाेसियसन भेडेटार अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए ।
फेस्टिवलका आकर्षणमा स्थानीय जातीय खानाका परिकार (रोटी, सेल, मःम, गुन्द्रुक, सिन्की, मासुका परिकार आदि), स्थानीय अर्गानिक तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला तथा घरेलु उत्पादनको प्रदर्शनी, मौलिक सांस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, माउन्टेन बाइक, प्याराग्लाइडिङलगायत साहसिक पर्यटन गतिविधि समेटिने एसाेसिएसनका पुर्व अध्यक्ष लिलाराज लावतिले जानकारि दिए ।
फेस्टिवलको माध्यमबाट भेडेटारका प्रमुख पर्यटकीय स्थलहरू—स्वर्गद्वार, शहिदडाँडा, पाथिभरा देवी मन्दिर, भेडेटार पार्क, नमस्ते भेडेटार, जनजाति पार्क, आत्मघर (Spirit Place), हेमन डाँडा, काकडभिट्टा भ्यू प्वाइन्टलगायत स्थानहरूको प्रचार–प्रसार हुने सागुरिगढी गाउपालिका अध्यक्ष जितेन्द्र रूम्जालिले वताए ।
होटल एशोसिएसन भेडेटारका सचिव लालवहादुर श्रेष्ठ रमेशका अनुसार फेस्टिवलले दीर्घकालीन रूपमा पर्यटन, होटल व्यवसाय, होमस्टे, कृषि, सांस्कृतिक तथा धार्मिक क्षेत्रको विकासमा योगदान पुर्याउनेछ। साथै स्थानीय युवालाई रोजगारी र लगानीका अवसर सिर्जना गर्दै भेडेटारको समग्र आर्थिक तथा सामाजिक उन्नतिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साे अवसरमा सांगुरीगढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, कृषि विकास शाखाको आयोजनामा कृषि मेला प्रदर्शनी कार्यक्रम सञ्चालन समेत हुने भएको छ।
गाउँपालिका भित्रका वडा नं. १ देखि १० सम्मका कृषकहरूलाई आफूले उत्पादन गरेका कृषि उपज प्रदर्शनीमा राखी प्रतिस्पर्धा गर्न तथा पुरस्कार जित्न आयोजकले आग्रह गरेको छ। मेलामार्फत कृषकहरूले आधुनिक कृषि प्रविधि तथा विभिन्न बालीबारे जानकारी लिन सक्नेछन्।
प्रदर्शनीमा खाद्यान्न बाली (धान, मकै, गहुँ, कोदो आदि), नगदे तथा औद्योगिक बाली (अदुवा, बेसार, अकबरे खुर्सानी, तोरी, चिया, कफी), फलफूल बाली (सुन्तला, कागती, एभोकाडो, केरा), तरकारी बाली (टमाटर, काउली, साग, आलु, सिमी, खुर्सानी) लगायत विविध कृषि बाली समावेश गरिने आयाेजकले जनाएकाे छ ।


