धरान । कोशी प्रदेशमा लागू औषध कारोबार र सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई थप चुस्त बनाउने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आइतबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रदेशको समग्र शान्ति सुरक्षालाई प्रभावकारी बनाउन कार्ययोजना अनुसार अगाडि बढ्ने निर्णय गरेको हो।

बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विशेष आतिथ्य रहेको थियो। बैठकमा लागू औषधको रोकथाम, सडक सुशासन, विपद् व्यवस्थापन र सीमा सुरक्षा सुदृढीकरणका विषयमा गहन छलफल गरिएको थियो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाका अनुसार, पछिल्लो समय प्रदेशमा देखिएको लागू औषध समस्या, कालोबजारी, सीमा क्षेत्रमा भइरहेको तस्करी तथा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हुने भीड व्यवस्थापनका सन्दर्भमा सुरक्षा रणनीति बनाइएको छ।

बैठकमा मुख्यमन्त्री कार्कीले चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिन, कालोबजारी रोक्न तथा धार्मिक कार्यक्रममा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका थिए। उनले विराटनगरको रथयात्रा लगायत अन्य जिल्लामा हुने कार्यक्रमहरूमा पनि विशेष सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेका थिए।

बैठकमा मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

बैठकमा तय गरिएका निर्णयहरू कार्यान्वयनमा ल्याएर कोशी प्रदेशलाई सुरक्षित, सुशासित र व्यवस्थित बनाउने सरकारको दाबी छ।