सुनसरी, सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थित क्षेत्रबाट लागूऔषध र नियन्त्रित औषधिसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका ३६ वर्षीय हेम बहादुर तामाङ र धनकुटा स्थायी घर भई हाल धरान–२६ मा बसोबास गर्दै आएका २८ वर्षीय मिलन थापा मगर रहेका छन्।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरू बसेको कोठाबाट २,९१० क्याप्सुल ट्रामोल र २,९५० ट्याब्लेट डिकोलिन बरामद गरिएको छ। यी औषधिहरू ‘लागू औषध तथा नियन्त्रित सूची’ मा पर्ने भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
हाल दुवैजनामाथि इलाका प्रहरी कार्यालय धरानमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।


