धरान । मोरङ, सुनसरी र धनकुटाबाट लागू औषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् ।साउन १ गते मोरङको सुनबर्षी नगरपालिका–९ स्थित इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भारत बिहार सिक्टी ग्राम पंचायतका ३२ वर्षीय सद्दाम हुसेन र भारत अररिया सिक्टी ग्राम पंचायतका ३२ वर्षीय शेर मोहमदलाई ६३ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
यस्तै, सप्तरी हनुमानगर कंकालिनी नगरपालिका–९ की २१ वर्षीया प्रतिक्षा रायलाई १ ग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका–१ स्थितबाट नियन्त्रणमा लिएको छ । त्यसैगरी, प्रहरी चौकी हिले, धनकुटाले शहीदभूमि गाउँपालिका–५ का २३ वर्षीय सुवास राईलाई २ सय ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


