धरान । झापाको बिर्तामोड नगरपालिका–५ स्थित कोठाबाट ठुलो परिमाणको प्रतिबन्धित औषधी भण्डारण गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ का २५ वर्षीय विनोद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा असार १ गते अस्थायी प्रहरी पोस्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ स्थित घिमिरेले भाडामा लिएको कोठामा छापा मार्दा विभिन्न प्रकारका ठूलो परिमाणका प्रतिबन्धित औषधी फेला परेको हो ।

पक्राउ परेका घिमिरेको कोठाबाट प्रहरीले १ लाख ३ हजार ८ सय क्याप्सुल ट्रमाडोल, १ हजार ८ सय ७० एम्पुल ट्रमाडोल इन्जेक्सन, ४ हजार ५० वटा ट्रमाडोल ट्याब्लेट, ९७ हजार वटा डाइक्लोमाईन ट्याब्लेट, ८ हजार ९ सय वटा सिल्डेनाफिल ट्याब्लेट, र ७ हजार ६ सय ५० वटा मिफिप्रिस्टोन एण्ड माईसोप्रोस्टल ट्याब्लेट बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका घिमिरेलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।