धरान, — २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सिर्जनशीलता, अभिव्यक्तिमूलक क्षमता र व्यक्तित्व विकासमा प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको ‘एसईई स्पिकर–२०८१’ सिजन–५ अन्तर्गत पब्लिक चोइस अवार्ड उपशीर्षक प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।
कार्यक्रम याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजनामा र धरान उपमहानगरपालिका–१४ को संयोजनमा बुढासुब्बा मन्दिर परिसरस्थित चौतारीमा खुला रूपमा सम्पन्न भएको हो।
प्रतियोगितामा फाइनल चरणमा पुगेका सहभागीहरूले “नशा होइन, सीप र सृजनामा युवा” र “बिजयपुर: ऐतिहासिक र पर्यटनको गन्तव्य” मध्ये एक शीर्षक रोजेर विचार प्रस्तुत गरेका थिए।
सौन्दर्य, सन्देश र सरोकारको त्रिवेणी कार्यक्रमबारे जानकारी दिँदै याडिकल लाइट नेपालका अध्यक्ष तीर्थ कार्कीले यसपटक कार्यक्रमलाई चारदीवारीभित्र सीमित नराखी खुला र हरियाली वातावरणमा आयोजना गरिएको बताए। “बुढासुब्बा मन्दिर परिसरमा कार्यक्रम गर्नुको पछाडि सौन्दर्य, सन्देश र सरोकारको त्रिवेणी समेट्ने प्रयास गरिएको हो,” उनले भने।
प्रतिभाशाली वक्ताहरूका धारणा प्रतिस्पर्धी शुभम पोखरेलले बिजयपुर क्षेत्रलाई धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले समृद्ध बताउँदै स्थानीय, सरकार र सरोकारवालाको समन्वयमा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने धारणा राखे।
त्यस्तै, दिविका राईले लागुऔषधको दलदलबाट युवालाई बचाउन सकारात्मक सोच, व्यावसायिक सीप र सृजनात्मक क्रियाकलापमा जोड दिनुपर्ने धारणा प्रस्तुत गरिन्।
सन्जिना राईले युवाहरूलाई कुलतबाट टाढा रही “नशाले सोच मर्छ, सोच मरे सपना मर्छ” भन्ने भाव व्यक्त गर्दै आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने बताइन्।
समयको सदुपयोग र नेतृत्व विकास कार्यक्रमका प्रमुख अतिथि धरान–१४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले एसईई दिएर फुर्सदमा रहेका युवाहरू कुलतमा फस्न सक्ने सम्भावना रहेकाले यस्ता प्रतियोगिताले समयको सही सदुपयोग, अभिव्यक्तिमा निखारता र नेतृत्व क्षमताको विकास गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
उनले खुला स्थानमा गरिने यस्ता कार्यक्रमहरूले सामाजिक चेतना फैलाउने मात्र नभई सहभागीहरूको प्रस्तुति अझ सशक्त बन्ने अवसर पनि दिने बताए।
उपस्थिति र सहभागिता कार्यक्रममा दन्तकाली माध्यमिक विद्यालय र आइडल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकहरू, समाजसेवी पन्कज घिमिरे, वडा नं. १४ की सामाजिक परिचालक रेनुका खतिवडालगायतको उपस्थिति रहेको थियो।


