सुनसरी, रसायनिक मल हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाण्डौंबाट २ वर्ष ६ महिना कैद र सात लाख त्रिपन्न हजार छ सय पचहत्तर रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादी दिलचन्द्र राई पक्राउ परेका छन्।

विशेष अदालतको मिति २०७९ साल भदौ २८ गतेको फैसला (लागत नम्बर २३०२) अनुसार ईटहरी उपमहानगरपालिका–११ निवासी ५२ वर्षीय राईलाई रसायनिक मल हिनामिनासम्बन्धी मुद्दामा दोषी ठहर गर्दै सजाय तोकिएको थियो। तर, फैसला भएको लामो समयसम्म उनी लुकीछिपी फरार रहँदै आएका थिए।

गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाँदा मिति २०८२ साल असार ५ गते दिउँसो १ बजे राईलाई उनको घर आसपासबाट सामुदायिक प्रहरी बिट भवानीपुर, ईटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउपछि आवश्यक कानुनी कारबाहीका लागि उनलाई जिल्ला अदालत सुनसरीमा पेश गरिएको छ।