धरानमा पारिवारिक विवादको क्रममा एक किशोरीको हत्या भएको छ। मंगलबार दिउँसो धरान वडा नं-३ मा १४ वर्षीया यूनिसा साहीको खुकुरी प्रहारबाट ज्यान गएको हो। यस घटनामा उनकी आमा सिर्जना साही पनि गम्भीर रूपमा घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार संखुवासभा खाँदवारीका वबिन बरालले यूनिसा र उनकी आमा सिर्जनालाई खुकुरी प्रहार गरेका थिए। बराल सिर्जनाको नातामा बहिनी ज्वाइँ हुन्।

प्रहरीका अनुसार सामान्य विवाद बढ्दै जाँदा बरालले अचानक खुकुरी निकालेर आक्रमण गरेका थिए, जसका कारण यूनिसा गम्भीर घाइते भइन्। उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो, जहाँ उनको मृत्यु भयो।

प्रहरीले घटनापछि बराललाई खुकुरीसहित नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ। डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिँदै भने, 'सिर्जना साहीको घरमा भएको सामान्य विवादले उग्र रुप लिएपछि खुकुरी प्रहार भएको देखिन्छ। अहिले सिर्जनाको उपचार धरानमै भइरहेको छ।'

बरालले आक्रोशमा आएर यूनिसा र उनकी आमा सिर्जनामाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको खुलेको छ।