धरान  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन् । स्वाथ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई आज प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।  प्रधानमन्त्री ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भएकाले यसलाई गम्भीररुपमा लिन निर्देशन दिएका हुन  ।आन्तरिक बढुवाकाे माग गर्दै प्रतिष्ठानका कर्मचारी तथा चिकित्सकले अस्पताल सेवा ठप्प पार्दै  आन्दोलनमा  उत्रिए पछि प्रतिष्ठान अस्तव्यस्त भएको छ ।   गत बर्ष पौष  २० गते प्रतिष्ठानले सुरू गरेको आन्तरिक वढुवा  गत भदौ ७ गते लोकसेवा आयोगले पत्र काट्दै रोकिदिएको थियो । आयोगले नयाँ नियमावलि स्वीकृत गरेर मात्र बढुवा प्रक्रिया सुरू गर्न निर्देशन दिए सगै बढुवा प्रक्रिया रोकिएको थियो ।