धरान । सरकारले बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको हो ।
सोमबार विहान बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको आयोगमा पूर्व एआईजी अरुण बिसी र गृहका सहसचिव नारायणप्रसाद भट्टराई आयोगमा सदस्य रहेका छन् । सरकारले , बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानविन गर्ने भन्दै आयोग गठन गरेको हो । आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको १ महिनाभित्र पेश गर्ने मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ ।आयोगलार्ई उक्त घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन तथा विश्लेषण गर्ने ,घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने तथा घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्ने कार्यदिशा वैठकले दिएको छ । शुक्रवार दिउँसो ईपीएस परीक्षाका विषयमा भएको प्रदर्शनका क्रममा जुम्लाका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । सुजनको किस्ट र वीरेन्द्रको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सरकारले यसअघि मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत घोषणा गरिसकेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) लालमणि आचार्यको संयोजकत्वमा यस अघिनै अर्का छानबिन समिति गठन भएको थियो ।


