धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्ड धरानको चुनावी सभामा हतारमा देखिए । 

चुनावी भाषणमा प्रचण्डले लोकतन्त्र स्थापना र शान्ति सम्झौतामा गिरिजाप्रसाद  कोइरालासँग सहकार्य गरेको स्मरण गरे ।  कोइरालादेखिको नेपाली काङ्ग्रेससँगको गठबन्धनको निरन्तरता न्युनत्तम अबका १५ वर्षसम्म चल्ने ग्यारेण्टी गरे । 

315522434_482946917148566_112464706196725315_n

झण्डै १०मिनटको भाषणमा प्रचण्डले खानेपानी समस्या समाधानका लागि धराने मेयर हर्क साम्पाङको प्रयासको प्रशंसा गरे । 

उनले धरानको सुकुम्बासी समस्या हल गर्ने, धरानका भूपू सैनिकलाई सम्मान जनक पेन्सनको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

धरान खेलकुदको सहर भएकाले रङ्गशाला निर्माणमा सहयोग गर्नेसमेत प्रण गरे ।  

धरान विकासमा राष्ट्रिय नेताको अभाव महशुस गरेका धरानेको मनोविज्ञान बुझेका प्रचण्डले बामलोकतान्तृक गठबन्धनका साझा उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिए । 

राष्ट्रिय नेताका रुपमा एमाले जसपा समीकरणका उम्मेदवार अशोककुमार राई रहेको र, उनले जिते मन्त्री बन्न सक्ने एमालेवृत्तले प्रचार गर्दै आएका छन् । राईले जिते धरानको कायाकल्प हुन सक्ने एमाले कार्यकर्ताले जनतामा चुनावी मुद्दा  बनाउँदै आएका छन् । 

सोही सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवार मेन्याङ्बोलाई जिताएर पठाए मन्त्री बनाइदिने आश्वासन दिएका हुन् ।