धरान । सुनसरी क्षेत्र नं। २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेकपा९एमाले० का भीम आचार्यले आफूले जनताको अपेक्षाभन्दा बढी नै विकास निर्माणका कामहरु गरेको बताएका छन् ।
उनले आफूले जितेर गएको निर्वाचन क्षेत्रमा विकासका विभिन्न पूर्वाधारहरु बनाउन र स्थानीय सरकारमार्फत् विकास गतिविधि अघि बढाउन सहयोग गरेको फेहरिस्त पेश गरेका छन् । उनले आफू छोटो समय पर्यटन मन्त्री हुँदा विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, रामधनी, बर्जु ताल, तालतलैया सबैमा पहिलो केन्द्रिय सरकारको बजेट पारेको बताए । ‘मैले नेपालमा दुई वटा इन्टरनेशनल एयरपोर्ट सुरु गराएँ,’ उनले भने, ‘छोटो समयलाई पनि उपयोग गरेर काम गरेँ ।’
दुई महिना प्रदेशको मुख्यमन्त्री हुँदा पनि नीतिगत र संस्थागत विकासका धेरै कामहरु गरेको भन्दै निर्वाचन क्षेत्र विशेष विकास निर्माणका कामहरु पनि प्रशस्तै गरेको बताएका छन् । उनले आफू कुनै कुराको सस्तो वाचा नगर्ने, तर गरेका वाचाहरु पुरा गर्ने स्वभावको भएको बताउँदै भने, ‘म इन्जिनियरिङ र व्यवस्थापन विषय पढेको मान्छे, व्यवस्थित विकासको लागि स्रोत, साधन र तरिकाहरुबारे जानकारी छ, त्यसैले गरेका प्रतिबद्धताहरु पुरा गर्छु, त्यो विगतको कार्यले पनि देखाउँछ ।’
उनले आफ्ना विपक्षी र विरोधीहरुले आफ्नो आलोचना गर्ने कुनै विषय नपाएको बताए । उनले भने, ‘मैले गरेका प्रतिबद्धताहरु पुरा गरेको छु, तर साथीहरु वर्षेनी एउटै सडकलाई, एउटै विषयलाई भजाउँदै चुनाव लडिरहनुभएको छ, अब जनताले वहाँहरुलाई प्रश्न गर्नुपर्छ ।’
उनले आफूले यस क्षेत्रमा बजेट ल्याउन सक्ने र केन्द्रसम्म पहुँच पुर्याउन सक्ने भएकोले पनि मतदाताहरु उत्साहित रहेको बताउँदै आफूले विगतमा गरेका कामहरुको आधारमा पनि मतदाताले मत दिनेमा विश्वस्त रहेको बताए ।

सुनसरी निर्वाचन क्षेत्र नं। ६ मा गरेका कामहरु –
उनले तात्कालिन सुनसरी क्षेत्र नं। ६ बाट निर्वाचित हुँदा लौकही–मधुवन–प्रकाशपुर, चिरौली चोक–प्रकाशपुर, झुम्का–प्रकाशपुर र महेन्द्रनगर जाने बाटो, कान्छि चोक–चतरा, धरान–चतरा, धरान–विष्णुपादुका जाने बाटो कालोपत्रे बनिसकेका छन् । अन्य कयौँ भित्रि बाटाहरु बनेका छन् ।
यस्तै बांगे चक्रघट्टिका धेरै बाटाहरु पनि अहिले निर्माधिन रहेको बताउँदै झुम्काको लगुना चोकबाट रामधुनि हुँदै धरान जाने र धरानबाट विष्णुपादुका जाने बाटो निर्माणाधिन रहेको बताए । १२ करोडको बजेट लगाएर सर्दु करिडोरको योजना बनाएकोमा ठेक्का लागेर निर्माणको काम चालु रहेको उनले जानकारी दिए । यस्तै धरानमा बहुजातीय संग्रहालय पर्यटन मन्त्री हुँदा देखि नै सुरु गरेको बताउँदै समितिको कामले ढिलासुस्ती भइरहेपनि ४–५ करोड बजेट विनियोजन भैसकेको उनले बताए ।
विजयपुर डाँडा, विष्णुपादुका मन्दिर, बराहक्षेत्र मन्दिरलाई आधुनिक बनाउने कुरामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै तात्कालिन सबै गाविसमा खानेपानीको योजना सुरु गरेको जानकारी दिए ।
हरेक माविलाई प्लस २ बनाउन, आवश्यक विद्यालय भवन बनाउन र कतिपय विद्यालयका शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गरिएको पनि उनले जानकारी दिए ।
आवश्यक ठाउँमा पुल, तटबन्ध र अन्य पूर्वाधारका कामहरु गरेको जानकारी दिए ।
निर्वाचित नहुँदै सुनसरी क्षेत्र नं। २ मा गरेका कामहरु –
उनले सुनसरी क्षेत्र नं। २ मा पर्ने विभिन्न पूर्वाधारको विकास निर्माणका काम पनि गरिरहेको बताए । ‘यता तिर यो निर्वाचन क्षेत्रमा पनि काँही मन्दिर, स्कुल, खानेपानी, सिचाँईका प्रोजेक्टहरु सञ्चालन गरेका छौं,’ उनले भने । देवानगञ्ज गाउँपालिकामा आफ्नै पहलमा बजेट राखेर सिँचाइ आयोजना निर्माणाधिन रहेको जानकारी दिए । सुनसरीमा बाँध र सिचाँईको योजनामा पहल गरिरहेको उनले बताए । नेपाली काँग्रेसबाट यसअघि यस क्षेत्रमा निर्वाचित सीताराम मेहताले पटक पटक आश्वासन दिएर पनि नबनाएको चर्चित इनरुवा–कौवाखोज सडकलाई आफूले पहिलो प्राथमिकता दिएको बताए ।
यस्तै उनले इनरुवा–दुहबी जाने बाटो फोर लेनको बनाउने कामलाई प्राथमिकता दिएको बताए । ‘म मुख्यमन्त्रि हुँदा त्यो बाटोलाई अलिकति अगाडि बढाउने काम गरेको थिएँ, अहिले ठेक्कापट्टा हुने अवस्थामा त्यो पुगेको छ,’ उनले भने ।
उनले आफूले यो पटक चुनाव जितेमा शहरी क्षेत्रको व्यवस्थित र आधुनिक शहरीकरण गर्ने र ग्रामिण क्षेत्रमा सडक, खानेपानी लगायत पूर्वाधारको विकाससँगै कृषि विकासमा जोड दिने बताए ।
उनले इटहरी, इनरुवा र रामधुनी नगरमा व्यवस्थित र आधुनिक शहरीकरणको योजना बनाएर लागु गर्ने बताए । यस्तै देवानगञ्ज र हरिनगरामा कृषि, सडक र उद्योगको विकासको योजना बनाइने जानकारी दिए । ‘शहरी क्षेत्र र ग्रामिण क्षेत्रका आवश्यकताको आधारमा विकास गरिनेछ,’ उनले भने, ‘त्यो योजनाबद्ध र दीर्घकालिन हुनेछ ।’
प्रदेश मुख्यमन्त्री हुँदा गरेका कामहरु –
उनले आफू दुई महिना प्रदेश मुख्यमन्त्री हुँदा प्रदेशको संरचनालाई प्रत्येक जिल्लामा पुर्याउन हरेक जिल्लामा कार्यालय खोल्ने निर्णय गरेको जानकारी दिए । न्युन आय भएको प्रदेशको आय बढाउनका लागि जनतामा अतिरिक्त भार नपारिकन २५ अर्ब रुपैया बढी आम्दानी गर्ने गरी योजना बनाएको बताए । त्यसको लागि उच्चस्तरीय राजस्व सुधार समिति बनाएको, काठमाडौंबाटै प्रशासनिक विज्ञहरु बोलाएर तीन महिना अध्ययन गर्दा प्रत्येक वर्ष २५ अर्ब रुपैया आम्दानी बढाउन सकिने देखिएको उनले ठोकुवा गरे । ‘प्रत्येक वर्ष बजेट बढाउने र हरेक साल त्यसलाई बढाउँदै गएर पाँच वर्षमा एक खरबको बजेट बनाउने योजना मैले बनाएको थिएँ,’ उनले भने ।
पर्यटन विकासको लागि पर्यटन समिति, खेलकुदको समिति, पत्रकारको समिति, उद्योग र मजदुरको बिचमा समन्वय गर्ने समिति पनि बनाएको उनले बताए । तर आफू पछि आएका मुख्यमन्त्रीले त्यसलाई निरन्तरता नदिँदा ती महत्वपूर्ण योजनाहरु अलपत्र परेको उनले बताए । यातायात र मालपोत कार्यालयलाई अनलाईन सिस्टममा ल्याउने विषयमा पहिलो क्याबिनेटमा निर्णय गरेर तयारीको काम अघि बढेको उनले जानकारी दिए ।


