धरान l नेकपा एमालेका बागी उम्मेदवारका रुपमा प्रतिनिधि सभा क्षेत्र नं. १ मा उम्मेदवारी दिएका मनोज कुमार मेन्याङ्बोले सहयोगी एमालेहरुमा घात गरेका छन् । हाम्रो नेपाली पार्टीसँग सहमति गरेपछि उनलाई सहयोग गर्ने एमाले कार्यकर्ताले उनको साथ छाड्न थालेका छन् ।
उम्मेदवारी दिने क्रममा बागी उम्मेदवारका रुपमा निर्वाचनमा उठेको भ्रम छर्दै समानुपातिक र निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ का साथै समानुपातिकमा सूर्य चिह्नमा नै मतदान गर्ने सहयोगी एमाले कार्यकर्ताको मनोविज्ञान थियो । तर उम्मेदवार मनोज मेन्याङ्बोले ‘हाम्रो नेपाली पार्टी’ सँग सहमति गरेपछि मेन्याङ्बोका पछि लाग्ने एमाले कार्यकर्तामा निराशा छाएको छ ।
सूर्य चिह्न र उम्मेदवारहरुलाई भोट हाल्ने कार्यकर्ता मेन्याङ्बोको कदमपछि रुष्ट बनेका छन् । हाम्रो नेपाली पार्टीका तर्फबाट प्रवक्ता डिल्लीश्वर कार्की (रोहन) र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले लौरो चिह्नमा मतदान गर्ने सहमति गरेका छन् ।
प्रतिनिधि सभामा मनोज मेन्याङ्बो र प्रदेश सभामा सूर्य चिह्नमा प्रदेश क मा रमेशकुमार बस्नेत र प्रदेश ख मा विजयकुमार राईलाई मतदान गर्ने मनोविज्ञान बनाइ सामाजिक सञ्जालमा समेत भोटको आह्वान गरेका एक कार्यकर्ताले मेन्याङ्बोको साथ छोड्ने बताए ।
मेन्याङ्बोको अभियानमा लागेका एक एमाले कार्यकर्ताले अब नेकपा एमालेका आधिकारिक उम्मेदवारलाई मतदान गर्न आह्वान गर्ने बताए । ‘अभियानको स्पिरिटअनुसार हामी मनोज मेन्याङ्बोलाई जिताउन लागेका थियौं, अब उनी अर्को पार्टीमा लागेपछि त्यसको औचित्य सकिएको छ,’ ती कार्यकर्ताले भने, ‘नेकपा एमाले र सूर्य चिह्नबाहेक अरु पार्टीमा लाग्ने र मतदान गर्ने हामी सोच्न पनि सक्दैनौं ।’
बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका मनोज मेन्याङ्बोले एमालेका कार्यकर्ताको भावना विपरीत काम गर्न थालेपछि उनीसँग बसिरहनुको औचित्य नभएको सहयोगी एमाले कार्यकर्ताले अभिव्यक्ति दिन थालेका छन् ।


