जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साताको लागि निषेधाज्ञा थपेको छ । 

आज बसेको डिसिसिएमसि बैठकले जेठ २२ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए । उनका अनुसार एक साता अवधि थप गर्नेबोहक विगतमा भएको निर्णय खुकुलो बनाउने कुनै परिवर्तन गरिएको छैन । ’निषेधाज्ञा २२ गतेसम्म थपिएको छ, अरु कुनै त्यस्तो निर्णय भएको वा परिवर्तन गरिएको छैन । बजार, पसल, हिडडुल सबै प्रतिबन्ध नै हो, ’उनले भने । 

यसअघि जेठ १५ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थपिएको थियो । उक्त समय भोली सकिने र कोरोना संक्रमणको वृद्धिदर पनि कम नभएपछि निषेधाज्ञाको समय थप गर्ने निर्णय भएको हो । उक्त बैठकले सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको पनि सहायक प्रजिअ पोखरेलले जानकारी दिए ।

जसअनुसार अब मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे एक सय जरिवाना हुनेछ । आवागमनमा रोक लगाइएको अवस्थामा अटेर गरे पटकै पिच्छे दुई सय जरिवाना तोकिएको छ ।

त्यसैगरी रोक लगाइएको अवस्थामा अत्यावश्यक (अनुमती वा जानकारी) वाहेक सवारीसाधन चलाएको पाइए दुई पांग्रेको हकमा दुई हजार र अन्यको हकमा पाँच हजार जरिवाना हुनेछ । सुनसरी प्रशासनले थपिएको अवधिमा सोही अनुरुपको कडाइ गर्न निर्देशन दिइएको समेत जनाएको छ ।

प्रशासनमा बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञाकै कारण चहलपहलमा आएको कमीले गर्दा जिल्लामा कोरोना फैलने क्रम रोकिएको निष्कर्शसमेत निकालेको छ ।

सरकारले ल्याएको कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ मा अध्यादेश वमोजिम कुनै पनि काम गर्न वाधा गर्नेलाई एक बर्षसम्म कैद वा पाँच लाख जरिवाना वा दुवै हुने व्यवस्था छ । यस्तै, अध्यादेश वमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था भएको सहायक प्रजिअ पोखरेलले बताए ।